तनहुँ : तनहुँको घिरिङ गाउँपालिका–२ स्थित कटहरे – मोहनी धारापानी खण्डको मोटरमार्गको निवर्तमान सासंद केदार सिग्देलले शुक्रबार अनुगमन गर्नुभएको छ । गाईघाट–गल्याङ्ग वैकल्पिक राजमार्गमा पर्ने कटहरे धारापानी मोटरमार्ग विस्तारको लागि ट्रयाक खोल्न लागिएको हो ।
तनहुँको घिरिङ र स्याङ्जाको चापाकोट नगरपालिका जोड्ने स्थानसम्मको करिव पाँच किलोमिटर बाटोको ट्रयाक खोल्ने तयारी गरिएको निवर्तमान सांसद सिग्देलले बताउनुभयो । गाईघाट – गल्याङ्ग वैकल्पिक राजमार्गको १ सय ७० किलोमिटर बाटो सम्पन्न भएपछि चितवनको गाईघाटदेखि स्याङ्जाको गल्याङसम्म सिधा मोटरमार्ग बन्नेछ ।
चितवनदेखि स्याङ्जा जानको लागि यो बाटो निकै छोटो हुने घिरिङ गाउँपालिका–२ का वडाध्यक्ष पूर्णबहादुर थापाले जानकारी दिनुभयो । चितवनको गाईघाट हुदै तनहुँको भिरकोट, मानपुर घिरिङ हुँदै स्याङ्जाको चापाकोट नगरपालिका हुँदै गल्याङ–गाईघाट वैकल्पिक राजमार्ग पर्यटकीय तथा सामरिक दृष्टिकोणले पनि महत्वपूर्ण हुने निवर्तमान सासंद सिग्देलले विश्वास व्यक्त गर्नुभयो ।