तनहुँ : तनहुँकाे शुक्लागण्डकी नगरपालिका-१२ बराहडाँडामा आइतबारदेखि प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिता शुरु भएको छ । युवा तथा खेलकुद विकास समिति शुक्लागण्डकी–१२ फिरफिरेको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा भएको प्रतियोगिताको पहिलो दिन तीन खेल भएको छ ।
उद्घाटन खेलमा वडा नम्बर ५ को समूहले विजय शुरुवात गरेको छ । वडा नम्बर १२(ख) लाई १६–२५, २६–२४ र २५–२१ को सेटमा पराजित गर्यो । क्वाटरफाइनल अन्र्तगतको पहिलो खेलमा वडा नम्बर १० लाई ११ को समूहले पराजित गरेको खेल संयोजक निर्मल गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार २५–१३, २३–२५ र २५–१५ को सेटमा पराजित गरेको हो ।
यस्तै, दोस्रो क्वाटरफाइनलमा शुक्लागण्डकी १२ (क) ले वडा नम्बर ६ लाई पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको छ । १९–२५, २५–१७ र २५–१३ को सेटमा पराजित गरेको गुरुङले जानकारी दिनुभयो । सोमबार क्वाटरफाइनल अन्तर्गतका दुई खेल हुनेछ भने सेमिफाइनल समिकरण र तेस्रो स्थानको खेल समेत हुने खेल संयोजक गुरुङले बताउनुभयो ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै वडाध्यक्ष मनराज गुरुङले खेलकुद क्षेत्रमा युवाहरुलाई अगाडी बढाउनुपर्ने बताउनुभयो । स्थानीयस्तरमा हुने प्रतियोगिताले खेलाडी उत्पादनमा सघाउने उहाँको भनाई छ । खेलकुदमा राजनिती हावी हुन नहुने उहाँले उल्लेख गर्नुभयो ।
२८ बजार मेलाको अवसरमा आयोजित प्रतियोगितामा १० समुहको सहभागिता रहेको छ । वडा नम्बर २, ४ र ८ का समुह भने सहभागी भएका छैनन् । २८ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुने समुहले नगद ६० हजार रुपैयाँको साथमा प्रमाणपत्र, मेडल र ट्रफी पाउने युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष टुकबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो र तेस्रोले क्रमश नगद ३० हजार रुपैयाँ, १५ हजार रुपैयाँको साथमा प्रमाणपत्र, मेडल र ट्रफी पाउनेछ ।