तनहुँ : सञ्चारको सुविधा विकसित भएपनि तनहुँको बन्दीपुर गाउँपालिका–३ रामकोटमा अझै पनि कटुवाल प्रथा कायमै छ । स्थानीय नरसिं थापाले विगत ६ वर्षदेखि गाउँमा कटुवालको रुपमा काम गर्दै आउनुभएको हो ।
गाउँमा हुने बैठक, कार्यक्रम, पूजाआजा लगायतका बेला थापाले घोक हालेर सूचना प्रवाह गर्दै आउनुभएको छ । कटुवालको कामलाई घोक फिराउने भनेर बुझिनछ । उहाँका बाबुले पनि रामकोटमा कटुवालको काम गर्दै आउनुभएको थियो । बाबुको निधनपछि गाउँलेले आफूलाई कटुवालको रुपमा नियुक्त गरेको उहाँले बताउनुभयो । “गाउँमा केही कार्यक्रम, पूजाआजा भयो भने मैले सबैलाई घोक हालेर सूचना दिने गरेको छु,” उहाँले भन्नुभयो, “त्यसबापत गाउँलेले वार्षिक रुपमा धान, मकै लगायतका अन्न दिने गरेका छन् ।”
भिडियाे :
https://www.youtube.com/embed/2CzfyHIYv_4
स्थानीय महिला बिहिसरा आलेले गाउँमा सूचना प्रवाह गर्नुपर्दा थापाले घोक हाल्ने गरेको बताउनुभयो । उहाँका अनुसार घरघरमा मोवाइल, रेडियो भएपनि थापाले घोक हालेपछि मात्रै सबै गाउँले जम्मा हुने गरेका छन् । “यहाँ वर्षाैदेखि चलिआएको चलन हो,” उहाँले भन्नुभयो ।
पर्यटक पर्खिदैछ रामकोट
चिटिक्क परेका घर । घर अगाडी ढुङ्गा छापिएको सडक । प्रत्येक घर अगाडी मकैको सुली । तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिका–३ मा रहेको रामकोट गाउँको चिनारी हो यो । मगर जातिको बसोबास रहेको यस ठाउँका स्थानीयवासीले घरबास सञ्चालन गरेका छन् ।
विसं २०७५ सालमा १४ घर दर्ता गरेर रामकोट घरबास व्यवस्थापन समिति दर्ता गरिएको थियो । कोभिड–१९ को प्रभावका कारण पर्यटक आगमन ठप्प रहेको रामकोटमा पुनः पर्यटक आगमन हुन थालेको घरबास व्यवस्थापन समितिका अध्यक्ष बिहीसरा आलेले जानकारी दिनुभयो । १४ घरले तालिम लिएर शुरु भएको रामकोट घरबासमा अहिले ४० घरमा पर्यटक राख्न मिल्नेछ ।
“कोभिड अगाडी अलि अलि आन्तरिक पर्यटक आउने क्रम थियो, तर कोभिडले रोकियो,” उहाँले भन्नुभयो, “कोभिडको प्रभाव कम हुँदै गएपछि अहिले फेरि पर्यटक आउन थाल्नुभएको छ ।” रामकोट आउने पाहुनालाई स्थानीय युवा क्लवले सांस्कृतिक कार्यक्रम देखाउने गरेको छ । “स्थानीय संस्कृति र अर्गानिक खानेकुरालाई जोड दिएका छौ,” उहाँले भन्नुभयो, “यहाँ आएका आन्तरिक पर्यटक सन्तुष्ट नै भएको पाएका छौ ।”
यहाँका स्थानीयवासीलाई घरबास आर्थिक उपार्जनको माध्यम समेत बनेको छ । पृथ्वीराजमार्गको व्यास नगरपालिका–१२ छिर्कने हुँदै र बन्दीपुर बजारदेखि रामकोट पुग्न सकिन्छ । बन्दीपुर गाउँपालिकाले बन्दीपुर बजारदेखि रामकोट पुग्न साइकल लेन समेत निर्माण गरेको छ । बन्दीपुर आएका विदेशी पर्यटक पनि साइकल लेनको बाटो पैदल हिँडेरै रामकोटसम्म पुग्ने गरेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो ।
“रामकोटको घरबासलाई जोड्ने उद्देश्य सहित गाउँपालिकाले ४.८ किलोमिटर साइकल लेन निर्माण गरेको छ,” थापाले भन्नुभयो, “यसले समग्र गाउँपालिकाको पर्यटन प्रबद्र्धनमा पनि टेवा पु¥याउँछ ।” घरबास सञ्चालनले ग्रामीण भेगका जनतालाई स्वरोजगार बन्न सहयोग पु¥याएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो । रामकोट सामुदायिक घरबासलाई यस वर्ष गण्डकी प्रदेश सरकारको तर्फबाट रु दश लाख अनुदानको व्यवस्था भएको छ ।