बन्दीपुरमा साइकल लेन : पर्यटनमा नयाँ आयाम (भिडियो रिपोर्ट)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरमा साइकल लेन : पर्यटनमा नयाँ आयाम (भिडियो रिपोर्ट)

    विनाेद ढुङ्गाना

    २२ माघ २०७७, शुक्रबार

    तनहुँ : लस्करै एउटै शैली (भक्तपुरे शैलीका)का घर । झिङ्गटीको छानो । फुलबुट्टे झ्याल ढोका । ढुङ्गाको छपनी बिछ्याएर चिटिक्क पारिएको आँगन र गोरेटो बाटो । उत्तरतर्फ मुस्कुराईरहेका हिमश्रृङ्खलासँगै तरेली परेका पहाडका थुम्का । हिमालबाट सोझै बहेर आएको मुटु कँपाउने हावाको झोक्का बन्दीपुरको विशेषता हो । यिनै विशेषताले आन्तरिक र बाह्य पर्यटकको नजरमा कहलिएको गन्तव्य बनेको छ बन्दीपुर बजार ।

    यदि विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाईरसले विश्वको पर्यटनलाई प्रभाव पार्थेन भने यतिबेला बन्दीपुरमा ठेलाठेल पर्यटक हुन्थ्यो । वर्षेनी लाखौँ पर्यटक बन्दीपुर घुम्न आउँछन् । तर, आसपासमा गन्तव्य नहुनु र भएका गन्तव्यको पहिना गर्न नसक्दा आएका पर्यटक बन्दीपुर बजार घुमेर फर्किहाल्छन् । पर्यटक अड्याउने गन्तव्यको अभाव देखिन्छ ।

    भिडियाेका लागि क्लिक गर्नुहाेस्https://youtu.be/gzhQZwGNHiw

    पछिल्ला केही वर्षयता पर्यटकको बसाई लम्बाउनलाई बन्दीपुरे पर्यटन व्यवसायीसँगै बन्दीपुर गाउँपालिका पनि जुटेको छ । नयाँ गन्तव्यको पहिचान र पूर्वाधार निर्माणमा गाउँपालिका कस्सिएको छ । साहसिक पर्यटकका लागि समेत बन्दीपुर चिनाउनलाई पूर्वाधार थप्ने योजना बुनेको गाउँपालिकाले साइकल लेन निर्माण गरी बन्दीपुरको पर्यटनमा नयाँ आयाम थपेको छ ।

    बन्दीपुर–२ गुर्दुम भञ्ज्याङदेखि वडा १ हुदै नम्बर ३ मा रहेको रामकोट होमस्टेसम्म ४.८ किलोमिटर र वडा नम्बर ४ गुम्बादेखि वडा नम्बर ५ बाहुनभञ्याङसम्म ४.२ किलोमिटर दूरी साइकल लेन निर्माण गरिएको छ । गत आर्थिक वर्षको बजेटबाट साइकल लेनको काम भएको हो ।
    श्रममा आधारित प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटलाई सदुपयोग गर्दै साइकल लेन बनाइएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमको नौ लाख रुपैयाँ र लकडाउनको बेला विपन्न वर्गका लागि श्रममा आधारित राहत कार्यक्रमको तीन लाख रुपैयाँ खर्चिएर साइकल लेन बनाईएको हो ।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलयात्री भित्र्याएर पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले साइकल लेन निर्माण गरेको उहाँले जानकारी दिनुभयो । ‘साईकल लेनले विभिन्न होमस्टे जोड्न खोजेका छौँ । यस्ले होमस्टेको प्रबद्र्धनमा सघाउँछ,’ उहाँले भन्नुभयो । साइकल लेनले पर्यटनमात्रै नभएर गाउँले जनजीवन पनि सजिलो बनाएको उहाँको भनाई छ ।

    साइकल लेनलाई व्यास नगरपालिकाको दमौली बजारबाट शुरु भएर आँबुखैरेनी गाउँपालिकाको छिम्केश्वरी डाँडोसम्म पु¥याउने योजना बनाएको उहाँले सुनाउनुभयो । यी दुई गन्तव्य जोडिदा करिब ५० किलोमिटरको साइकल लेन बन्नेछ । त्यसका लागि व्यास र आबुखैरेनीसँग सहकार्य गर्ने अध्यक्ष थापाले जनाउनुभयो । महाभारत श्रृङ्खलामा बनेको लेनमा साइकल यात्रा गर्दा जोखिम कम हुने भएकाले पनि साइकलयात्रीको रोजाईमा पर्ने उहाँको दाबी छ ।

    गुर्दुम भञ्ज्याङदेखि रामकोट होमस्टेसम्मको साइकल लेनको हालै गाउँपालिकाले उद्घाटनसँगै परीक्षण गरेको छ । तीन जना साइकलयात्रीले यो लेनमा साइकल यात्रा गरे । साइकल लेनको सम्भावना निकै राम्रो पाएको साइकलयात्री चन्द्र आलेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सम्भावना राम्रो छ । लेनलाई निर्माण गरेर मात्रै हुँदैन निरन्तरता दिन जरुरी छ ।’ साइकलयात्रीलाई चोटपटक लाग्दाको बखत प्राथमिक उपचार समेत अभाव देखिएको उहाँले बताउनुभयो ।

    तनहुँकै पहिलो गोरो छाला भएका पर्यटक भित्र्याउने गाउँको रुपमा परिचित रामकोटमा पर्यटनको साइकल लेन आशाको किरण बनेको छ । हिमालका दृश्य, तरेली परेका पहाडका थुम्का, हरियाली प्रकृती, भिरपहरा हेर्दै जङ्गल छिचोल्दै साइकल लेन हुँदै होमस्टेमा बस्न आउने पर्यटकको सङ्ख्या बढ्नेमा विश्वस्त रहेको हामेस्टे व्यवस्थापन समितिकी अध्यक्ष बिहीसरा आलेले बताउनुभयो । ‘पर्यटक बढ्ने आशा गरेका छौँ,’ उहाँले अगाडी थप्दै भन्नुभयो, ‘साइकल लेनले त गाउँपालिका जान र जङ्गलबाट घाँस दाउरा गर्न पनि सजिलो बनाएको छ । ’

    हालै बनेको ९ किलोमिटर दूरीमा रहेको साइकल लेनले बन्दीपुर बजारसँगै यहाँका आधा दर्जन होमस्टेलाई जोडेको छ । बन्दीपुरका पर्यटन व्यवसायीलाई पनि उत्साहित बनाएको छ । बन्दीपुर गाउँपालिकाको समेत लगानी रहेको बन्दीपुर केबलकार निर्माणधिन अवस्थामा छ । गाउँपालिकाले शिशाको पुल, बन्जीजम्प र जीपलाईनको योजना पनि अगाडी सारेको जनाइएको छ ।