तनहुँ : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय चालिस मेगावाट क्षमताको प्याकेज दुई अन्तर्गतको निर्माण कम्पनी सिनो हाइड्रो कर्पोरेशन र मजदुरबीच भएको विवाद समाधान भएको छ । सिनो हाइड्रो र नेपाली मजदुरबीच शुक्रबारदेखि विवाद हुँदा मजदुर आन्दोलनमा उत्रिएपछि दुई दिनदेखि काम अवरुद्ध भएको थियो ।
शुक्रबार राति विद्युतगृहमा चालक पुष्कर थापाले स्काभेटर सफा गर्ने क्रममा पानी उछिटिँदा चिनियाँ व्यक्ति भिजेपछि त्यसको प्रतिशोधमा चिनियाँ व्यक्तिले ढुङ्गा प्रहार गरेका थिए । ढुङ्गा प्रहारबाट स्काभेटरको सिसा फुटेपछि सिनो हाइड्रो र मजदुरबीच विवाद हुँदा मजदुर आन्दोलनमा उत्रिएका थिए ।
आइतबार सिनो र मजदुरबीच भएको छलफलपछि विवाद समाधान भएको तनहुँ जलविद्युत आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार स्काभेटरमा ढुङ्गा प्रहार गर्ने व्यक्तिलाई कारवाही गर्ने, मजदुरको माग बमोजिम जिल्ला दररेट समितिले निर्धारण गरेको पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको छ । “मजदुरले राखेका अन्य मागहरु पनि क्रमिक रुपमा पूरा गर्दै जाने सिनो र मजदुरबीच सहमति भएको छ,” घिमिरेले भन्नुभयो, “उक्त सहमतिसँगै सोमबारदेखि मजदुर काममा फर्कन सहमत भएका छन् ।”
आयोजनाको प्याकेज १ का लागि निर्माण कम्पनीसँग पनि सम्झौताको तयारी गरिएको छ । पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीन वटा कम्पनीको बोलपत्र परेकामा एसियाली विकास बैङ्कले सोङ्दा भियतनाम÷कालिका जेभीलाई छनौटको स्वीकृती दिएपछि उक्त कम्पनीसँग सम्झौताको तयारी गरिएको आयोजनाले जनाएको छ ।
पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम÷कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेज अन्र्तगत एक सय चालिस मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गरिनेछ । कम्पनीले यसअगाडी पहिलो प्याकेजका लागि सिएमसीसँग ठेक्का रद्द गरेर पुनः बोलपत्र आह्वान गरेको थियो ।
प्याकेज दुई अन्तर्गत सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले काम गरिरहेको छ । प्याकेज दुई अन्तर्गत सिनोले सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । त्यस्तै प्याकेज तीन अन्तर्गत प्रशारण लाइन निर्माणका लागि रु तीन करोड खर्च भएको छ । प्रशारण लाइन निर्माणका लागि भारतको केइसि इन्टरनेशनल लिमिटेडले ठेक्का पाएको छ ।
आयोजनाले प्रशारण लाइन निर्माणका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले त्यसको प्रकृयालाई समेत अगाडी बढाइसकेको छ । टावर राख्नका लागि ५३ जना व्यक्तिको जग्गा अधिग्रहण गर्नुपर्नेछ । आयोजनाको प्रशारण लाइन निर्माणका क्रममा टावर राख्नका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गरिनेछ भने तार तान्नका लागि २१ हेक्टर क्षेत्रफललाई क्षतिपूर्ति दिइनेछ ।
दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । चालु आर्थिक वर्षमा प्रशारण लाइनका लागि ३० वटा टावर निर्माण गरिनेछ । आयोजनाका लागि एक सय चालिस मिटर बाँध, एक हजार १ सय ६२ मिटर र ७४ मिटर को मुख्य सुरुङ, ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ४४ मिटर उचाई भएको भूमिगृत विद्यृतगृह निर्माण गरिनेछ । खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट उर्जा उत्पादन गर्नेछ । आयोजनाको कुल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रशारण लाईन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर बेहोर्ने छ ।