तनहुँ : वन्यजन्तु संरक्षणमा सञ्चारकर्मीको भूमिकाबारे छलफल गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले सोमबार आयोजना गरेको अन्तरक्रियामा वन्यजन्तुको संरक्षणका लागि सञ्चारकर्मीले खेल्न सक्ने भूमिकाका बारेमा छलफल गरिएको हो ।
पृथ्वीमा रहेका हरेक वन्यजन्तुको बाँच्न पाउने अधिकार रहेकाले वन्यजन्तुको संरक्षण गर्नुपर्ने डिभिजन वन प्रमुख कोमलराज काफ्लेले बताउनुभयो । धर्तीलाई उपयुक्त राख्न सबै जीवजन्तुको उत्तिकै योगदान रहेको चर्चा गर्दै उहाँले धर्ती बनाउने काम जीवजन्तुले गरेपनि बिगार्ने काम भने मानिसले गरेको बताउनुभयो । “मानिसको कारण वातावरण बिग्रदै गएको र सोही कारण वन्यजन्तु नाश हुने क्रम बढेकाले सञ्चारकर्मीले यसबारेमा कलम चलाउनुपर्छ,” उहाँले भन्नुभयो ।
तनहुँमा पछिल्लो समय चितुवाको बढी आतङ्क रहेको र चितुवाको आक्रमणबाट धेरै बालबालिकाले ज्यान गुमाइसकेका छन् । वन्यजन्तुको संरक्षण गर्दै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पनि सञ्चारकर्मीले कलम चलाउनुपर्नेमा काफ्लेको जोड थियो । वन्यजन्तुको आनीबानी थाहा पाउँदै यसबाट बच्न सकिने उपायका बारेमा सर्वसाधारणलाई सचेत गराउनुपर्ने उहाँको भनाई थियो ।
“चितुवा मारेर वा पासोमा पारेर मात्रै समस्या समाधान हुँदैन, मानव र वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्नु नै उत्तम उपाय हो,” उहाँले भन्नुभयो, “वन्यजन्तुको संरक्षण गर्नु अपरिहार्य छ ।” सो अवसरमा डिभिजन वन कार्यालयका प्रमुख काफ्लेले वन्यजन्तु संरक्षणका लागि कार्यालयले अवलम्बन गरिरहेको प्रयासका बारेमा जानकारी गराउनुभयो ।
उहाँका अनुसार भानुका जङ्गलमा चितुवाले खाने आहारा प्रजाति र पानीको स्रोत मासिएकाले चितुवा मानववस्तीमा आउने गरेको छ । “जङ्गलमा पानीको व्यवस्था गर्न सकियो भने चितुवाको आक्रमण घटाउन सकिन्छ, जङ्गलमा पोखरी निर्माणका लागि सम्बन्धित निकायलाई घचघचाउन सञ्चारकर्मीले पहल गरिदिनुपर्छ,” उहाँले भन्नुभयो ।