आँबुखैरेनीमा आरोग्य सेवा केन्द्र सञ्चालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा आरोग्य सेवा केन्द्र सञ्चालन

    खबरपुञ्ज संवाददाता

    ८ चैत्र २०७७, सोमबार

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–१ मा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । प्रत्येक स्थानीय तहमा केन्द्र स्थापना गर्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँको लक्ष्य अनुसार उक्त वडाको मेलमिलाप केन्द्रमा सोमबारबाट आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो ।

    आरोग्य सेवा केन्द्रको उद्घाटन गर्दै आँबुखैरेनी गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले केन्द्रबाट आयुर्वेद पद्दतिको उपचार सेवा दिनेमात्र नभई ध्यान, योग र साधनाप्रति सर्वसाधारणलाई आकर्षित गराउनुपर्ने बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले पछिल्लो समय आयुर्वेद सेवाप्रति जनताको विश्वास बढ्दै गएकाले सबैले उक्त सेवा लिनुपर्नेमा जोड दिनुभयो ।

    आधुनिक चिकित्सा प्रणाली भन्दा आयुर्वेदिक चिकित्सा प्रणाली महत्वपूर्ण रहेकाले यसकै महत्व बुझाउन हरेक स्थानीय तहमा आरोग्य केन्द्र स्थापना गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँका अध्यक्ष देवीबहादुर बस्नेतले बताउनुभयो । सर्वसाधारणलाई आयुर्वेद स्वास्थ्य सेवाका लागि अन्यत्र भौतारिन नपरोस् भन्ने उद्देश्यसहित स्थानीय तहमै आरोग्य स्वास्थ्य केन्द्र स्थापनालाई तीव्रता दिइएको बस्नेतले बताउनुभयो ।

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले दश वटै स्थानीय तहमा आरोग्य सेवा केन्द्र स्थापनालाई तीव्रता दिएको छ । जिल्लाको घिरिङ, देवघाट र बन्दीपुर गाउँपालिकामा आरोग्य सेवा स्थापना भइसकेको छ ।