शुक्लागण्डकी मेयर कप भलिबल शुरु (तस्बिर सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    शुक्लागण्डकी मेयर कप भलिबल शुरु (तस्बिर सहित)

    खबरपुञ्ज संवाददाता

    १२ चैत्र २०७७, शुक्रबार

    दुलेगौँडा : शुक्लागण्डकी नगरपालिकाको आयोजनामा प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । शुक्रबार शुरु गण्डकी प्रदेश अन्तर्गतका पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको पहिलो दिन चार खेल भयो ।


    गाउँफर्कोदय माविको खेलमैदान ढोरफिर्दीमा भएको खेलमा आयोजक शुक्लागण्डकी नगरपालिका ‘ए’ सहित कास्कीको मादी गाउँपालिका, स्याङजाको हरिनास गाउँपालिका र नवलपुरको बौदिकाली गाउँपालिकाले विजयी सुरुवात गरेका छन् ।

    पहिलो खेलमा कास्कीको मादी गाउँपालिकाले आयोजक शुक्लागण्डकी ‘बि’ लाई पराजित गर्दै सुखद सुरुवात गरेको छ । मादीले शुक्लागण्डकी ‘बि’ लाई २–० को सोझो सेटमा पाखा लगाउदै दोस्रो चरणको यात्रा तय गरेको हो । मादीले पहिलो सेटमा २५–१७ मा हराउदा दोस्रो सेटमा पनि २५–१७ मै हरायो ।


    दोस्रो खेलमा शुक्लगण्डकी ‘ए’ ले देवघाट गाउँपालिकालाई २–० को सोझो सेटमा पराजित गरेको छ । निकै कमजोर प्रर्दशन गरेको देवघाटले पहिलो सेटमा २५–११ र दोस्रो सेटमा २५–२७ को स्कोरमा पराजय भोग्यो ।


    तेस्रो खेलामा स्याङजाको हरिनास गाउँपालिकाले निकै कमजोर सावित भएको व्यास नगरपालिकालाई २५–११, २५–१४ को सोझो सेटमा पाखा लगायो ।


    अन्तिम खेलमा नवलपुरको बौदीकाली गाउँपालिका विजयी भएको छ । म्याग्दे गाउँपालिकालाई बौदीकालीले २५–१३, २५–२३ को नतिजा हासिल गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो ।

    यो पनि पढ्नुहोस


    प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मेयर कप सञ्चालन तथा व्यस्थापन समिति संयोजक एवम शुक्लागण्डकी–५ का वडाध्यक्ष दिर्घबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो हुनेले एक लाख, तेस्रोले ५० हजार र सान्त्वनाले २५ हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । बेष्ट स्पाईकर, सेन्टर सर्वर, ब्लकर, डिफेन्डरले जनही पाँच हजार रुपैयाँ हात पार्नेछन् ।


    शनिबार पहिलो चरणको बाँकी तीन खेल हुनेछ । बाग्लुङको गल्कोट नगरपालिका र स्याङजाको कालीगण्डकी गाउँपालिका, तनहुँको ऋषिङ गाउँपालिका र भिमाद नगरपालिका, कास्कीको पोखरा महानगरपालिका र तनहुँको घिरिङ गाउँपालिका भिड्नेछन् । स्याङजाको पुतलीबजार नगरपालिका भने बाई पाएर सिधै दोस्रो चरणको यात्रा प्रवेश गरीसकेको छ । आईतबारसम्म चल्ने प्रतियोगितामा १५ समुहले सहभागीता जनाएका छन् ।


    शुक्रबार नेपाली कांग्रेसका केन्द्रिय सदस्य युवा नेता प्रदिप पौडेलले प्रतियोगिताको उद्घाटन गर्नुभयो । उहाँले भलिबलमा महिला पुरुष दुवैलाई समावेशी तरिकाले खेलाउनुपर्ने बताउनुभयो । उहाँले खेलकुदको विकासका लागि प्राथमिकता निर्धारण गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । नेता पौडेलले अगाडी भन्नुभयो, ‘ समाजमा भावनात्मक सम्बन्ध विकास गर्न खेलकुदको भुमिका रहन्छ ।’

    मेयर किसान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर सविता रसाईली, शिक्षा शाखाका अधिकृत ज्योतिप्रकाश तिम्लिसिना लगायतले बोल्नुभएको थियो ।