एजेन्सी:नाइजेरियाको दक्षिण-पूर्वी सहर ओवेरीस्थित जेलबाट १८ सयभन्दा बढी कैदी भागेका छन्। जेल प्रशासनको प्रशासनिक भवनमा हतियारधारीको आक्रमणपछि १ हजार ८ सय ४४ जना कैदी भागेको नाइजेरियन करेक्सनल सर्भिसले जानकारी दिएको छ।
नाइजेरियाको दक्षिण-पूर्वी सहर ओवेरीस्थित जेलबाट कैदी भागेका हुन्। भागेकामध्ये ६ कैदी फर्किएर आएको र ३५ जना भने नभागेको बताइएको छ।
प्रतिबन्धित समूह इन्डिजिनियस पिपल अफ बाइअफ्राले जेल प्रशासनमा आक्रमण गरी कैदी भगाएको आरोप लगाइएको छ। तर बाइअफ्राले भने आफूहरूले आक्रमण नगरिएको दाबी गरेको छ।
सोमबार ओवेरी जेलमा हतियारधारीले अन्धाधुन्ध आक्रमण गरेका थिए। उनीहरू बस, ट्रक, पिकअपमा आएका थिए।
मेसिन गन, ग्रिनेड र विस्फोटक पदार्थसहित आक्रमण भएको त्यहाँको प्रहरीले बताएको छ।
राष्ट्रपति महाम्मादु बुहारीले आक्रमणलाई आतंकको संज्ञा दिएका छन्।
जनवरीदेखि नै दक्षिण-पूर्वी नाइजेरियाका पुलिस स्टेसन र सवारीसाधनमा आक्रमण हुँदै आएको थियो।