


एजेन्सी, २९ चैत । अमेरिका र इरानबीचको शान्ति वार्ता निष्कर्षविहीन बनेको छ । पाकिस्तानको राजधानी इस्लामावादमा शनिबार दिउँसोदेखि २१ घण्टासम्म चलेको वार्ता बिनानिष्कर्ष टुङ्गिएको हो ।
वार्ता निष्कर्षमा पुग्न नसकेपछि उपराष्ट्रपति जेडी भान्स नेतृत्वको अमेरिकी प्रतिनिधिमण्डल स्वदेश फर्किएको छ ।
अमेरिकाले आफ्ना मागहरू इरानले अस्वीकार गरेका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको जनाएको छ । वार्तापछि उपराष्ट्रपति भान्सले इस्लामावादमा पत्रकार सम्मेलन गरेर वार्ताबारे जानकारी दिएका थिए । पत्रकार सम्मेलनमा उनले अमेरिका लचिलो र सद्भावपूर्ण रूपमा वार्तामा सहभागी भए पनि इरानलाई आफ्नो प्रस्तावमा सहमत गराउन नसकेको बताएका थिए । इरानले परमाणु हतियार नबनाउने विषयमा ग्यारेन्टी खोजे पनि त्यसमा इरान सहमत नभएको उनको भनाइ छ ।
इरानले भने अमेरिकाको अन्यधिक मागका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको आरोप लगाएको छ । इरानको सरकारी मिडिया प्रेस टीभीको रिपोर्टअनुसार स्ट्रेट अफ होर्मुज र इरानको आणविक अधिकारका विषयमा अमेरिकाले अत्यधिक माग गरेको थियो । यी विषयमा कुन–कुन कुरामा मतभेद भएको हो भन्नेबारे भने पूर्ण रूपमा खुलाइएको छ ।
वार्ता असफल भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू चिन्तित नभएको प्रतिक्रिया दिएका छन् । उनले वार्ता जे भए पनि जित अमेरिकाको भएको दाबी गरेका छन् ।
योसँगै करिब डेढ महिनादेखि जारी अमेरिका–इजरायल र इरान युद्ध अनिश्चित बन्ने देखिएको छ । यसले क्षेत्रीय सुरक्षा, आणविक कार्यक्रम र रणनीतिक तेल मार्गजस्ता संवेदनशील विषयहरूमा समस्या थप गहिरिने अनुमान गरिएको छ ।