


एजेन्सी, २४ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘स्ट्रेट अफ हर्मुज’ खोल्न दिएको समयसीमा नजिकिँदै गर्दा इसराइलले इरानी जनतालाई रेल सेवा प्रयोग गरेमा उनीहरूको ज्यान जोखिममा पर्न सक्ने चेतावनी दिएको छ।
इसराइली सेनाले सामाजिक संजालमा फारसी भाषामा पोस्ट गर्दै आफ्नो सुरक्षाका लागि इरानभरि रेलबाट यात्रा नगर्न इरानीहरूलाई आग्रह गरेको छ।
‘रेलमा र रेलवे लाइन नजिक तपाईंको उपस्थिति तपाईंको जीवनका लागि खतरनाक हुन सक्छ,’ उक्त सन्देशमा भनिएको छ।
यसले सर्वसाधारणले प्रयोग गर्ने रेल अनि रेलको स्टेसन र लिकमा बमबारी हुन सक्ने स्पष्ट संकेत दिएको छ।
ट्रम्पले अमेरिकी समय अनुसार मंगलबार साँझ ८ बजे (नेपाली समय बुधबार बिहान ५:४५) सम्ममा ‘स्ट्रेट अफ हर्मुज’ नखोले इरानका सबैखाले भौतिक पूर्वाधारमा प्रहार गर्ने धम्की दिँदै आएका छन्।
उनले दिएको समयसीमा सकिन लाग्दा इरानलाई एकै रातमा ध्वस्त पार्न सक्ने धम्की समेत दिएका छन्।’पूरै देशलाई एकै रातमा सखाप पार्न सकिन्छ। र त्यो रात भोलि नै हुन सक्छ,’ ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग भने।
अमेरिकासँग इरानका प्रत्येक पुलहरू ध्वस्त पार्ने योजना भएको पनि उनले दाबी गरे।
‘केही घण्टाभित्रै इरानका हरेक पावर प्लान्टहरू काम नलाग्ने हुनेछन्, जल्नेछन्, विष्फोट हुनेछन् र फेरि कहिल्यै प्रयोगमा आउने छैनन्,’ उनले भने।
त्यस्तो भए अमेरिकाले युद्धपछि इरानको तेल नियन्त्रण गर्ने घोषणा गरेका छन्।