काठमाडाै : चर्चित गायक प्रकाश सपुतलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौ मेडिकल कलेजमा गरिएको परीक्षण अनुसार सपुतलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
उहाँले शुक्रबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत् उक्त कुरा सार्वजनिक गर्नुभएको छ । उहाँले यसबीचमा आफ्नो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैजनालाई कोरोना परीक्षण गर्न आग्रह गर्नुभएको छ ।
“एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि मैले पिसीआर टेष्ट गरेको थिए,” उहाँले भन्नुभयो, “म होम आइसोलेशनमा छु र अवस्था सामान्य छ ।”
कोरोना जित्न सकिन्छ भन्ने आत्मबल राख्न तर कोरोनालाई सामान्य नठान्न सपुतले आग्रह गर्नुभएको छ । “लक्षण सामान्य भएपनि यसले निकै हतोत्साही बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौ,” उहाँले भन्नुभयो ।