पाेखरा : गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार पर्वतको दुई, तनहुँको एक र कास्कीको एक सङ्क्रमितको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
पर्वतको जलजला गाउँपालिका–३ की ६३ वर्षीय पुरुषको होम आइसोलेशनमा मृत्यु भएको छ । उहाँमा वैशाख २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको छ । पर्वतकै कुश्मा नगरपालिका–९ का ५३ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उहाँमा वैशाख १३ कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
तनहुँको व्यास नगरपालिका–१ की ६० वर्षीया महिलाको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उहाँमा वैशाख २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कास्कीको पोखरा महानगरपालिका–२५ का ६८ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उहाँमा वैशाख २२ गते सङ्क्रमण पुष्टि भएको थियो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २४५ पुगेको छ ।