तनहुँ : तनहुँको व्यास नगरपालिकास्थित विभिन्न ठाउँमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएर जरीवाना गराइएको छ ।
व्यास नगरपालिका–५ स्थित मादी नदीको बगरबाट निषेधित समयमा नदीजन्य पदार्थ उत्खनन् एवं लोड गरी ओसारपसार गर्दै गरेको अवस्थामा ग १ त ५५१४, ग १ त ३१५७ र ग १ त २६३० नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका सवारीलाई कारवाहीका लागि व्यास नगरपालिका पठाइएकामा प्रति ट्याक्टर रु ८ हजारका दरले रु २४ हजार जरीवाना भएको प्रहरीले जनाएको छ ।
त्यस्तै व्यास नगरपालिका–१० दुम्सीस्थित मादी नदी बगरबाट अवैध रुपमा बालुवा उत्खनन् गरी ओसारपसार गर्दै गरेको अवस्थामा ग १ त ४३५८ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको छ । उक्त ट्याक्टरलाई पनि नगरपालिकाले रु ८ हजार जरीवाना गरेको छ ।
व्यास नगरपालिका–७ दुलेपानीस्थित झोलुङ्गे पुलमाथि अवैध रुपमा ढुङ्गा लोड गर्दै गरेको अवस्थामा ग १ त ६४९१ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको छ । उक्त ट्याक्टरलाई कारवाहीका लागि नगरपालिका बुझाइएको प्रहरीले जनाएको छ ।