परदेश बाल्यकालमा एउटा सपना सपना । किशोराबस्थामा महत्वाकांक्षा, भोगाईमा बाध्यता । परदेशको परिभाषा सायद यत्ति मात्र नहोला । भुक्तभोगी परदेशिलाइ सोध्नुस परदेशको परिभाषा खुशी संगै हजारौं पीडा, रोग, भोक र बिभेदको संगम हो ।
हो ! सानोमा एउटा सपना मात्रै थियो परदेश । किशोरावस्थामा त्यही सपना महत्वाकांक्षा बनिदियो । तर, जब ब्याबहारिक जिवनमा प्रबेश गरें तब लालाबाला हरुको भरणपोषण, शिक्षादीक्षा र चुहिएको घरको छानो टाल्ने बाध्यता बनेको छ । परदेशमा बगाएको पसिनाले हरेक महिनाको अन्तिममा श्रीमतिले बालबच्चाको स्कुल फि तिरें, रासन पसलको सबै बक्यौता पूरा गरे भन्दा परदेशले एक टुक्रो खुशी अवश्य दिन्छ । तर, कहिल्यै कसैलाइ भन्न हिम्मत गर्न नसकिने कयौँ दुख,पिडा र विभेदले भने आफुलाइ सधैं छियाछिया पार्ने गर्छ । हरेक दुखमा एक्लै रुनुपर्ने ठाउँ हो परदेश । हो ! त्यही परदेशमा आँसु, रगत र पसिना बगाउने म हुं एक बिवश परदेशी ।
म परदेशमा सयौं तलाको महल बनाउछु । उता गाउँमा बर्षातको झरीमा घरको छानाबाट चुहिएको पानीबाट जोगिन एउटै कोठभित्र ठाउँ सर्दै सर्दै रात छर्लङ्ग पार्ने बुढा बा आमालाई नयाँ घर बनाउन नसकेपनि चुहिने जस्ता त जसै फेरौला भनेर बर्षौदेखी परदेशिएको एक परदेशी हुँ म ।
परदेशमा मैले कसैको बा आमा नुहाई दिएर, तेल लगाइ दिंदा वा डो¥याएर पार्क र सपिङ मल घुमाउदा उनीहरुको अनुहारमा देखिने मुस्कानलाई अति नै सहाराको खांचो भएका मुस्किलले लठ्ठीको साहराले चर्पी पुगेर दिशापिसाब गर्ने मेरा बुढा बा आमाको अनुहार मानेर खुशी हुने एक विवश परदेशी म नै हुँ ।
यति मात्रै कहाँ हो र बिवशता ? म एक सुरक्षाकर्मीको रुपमा परदेशमा लाखौंको जिउधनको सुरक्षा दिइरहरदा मेरो घरमा भने अस्ति मात्रै एक हुल बांदर आएर पसेछन । मेरि बुढी आमा लठ्ठीको साहाराले मुस्किलले उभिएर “है है “ गर्दागर्दै केही झुत्ता मकै लुटेर लगिदिएछन । अब यो साल गुजारा कसरी गर्ने भन्दै आमाले सुनाएको क्रन्दन सुनेर बस्ने लाचार परदेशी हुँ म ।
समाधान गर्न नसकिएका घरका कयौं समस्या आफैभित्र अझै भारी बनेर बसि रहेका छन । म परदेशमा कसैको घर, कौसी, झ्याल र टेबलहरु टिलिक्क टल्काइ रहदा मेरो घरको आगन देखि पिंढी सम्म वनमाराले ढाकी सकेछ, तितेपाती फुलिसकेछ । मेरो घरको छानोमा झांङ्गिएको झारलाइ हेरेर अर्को बर्ष नयाँ घर बनाउछु भन्दै पटकपटक विदेशिन बाध्य बिवश परदेशी हुँ म ।
परदेशमा म आफैले ज्यान जोखिममा राखेर रगत पसिना बगाएर बनाएको गगनचुम्बी महलमा हरुमा निर्माण पूरा हुनासाथ “ल्य भ्लतचथ“ भनेर पस्न नदिइने एक हेपिएको “परदेशी“ हुं म ।
कसैलाई साना नानीहरु डो¥याएर हिँडेको देख्दा, आफ्नै नानीहरुको सम्झानाले कोसौं टाढा पुग्दा सम्म आखाँले पछ्याईरहन्छ । कसैले आफ्नी जिवन साथीको हात समाएर डुलेको देख्दा मोबाइलमा पुराना तस्बिर हेरेर रुन्चे मुस्कान मुस्कुराउँछु । आफ्नो हरेक इच्छा र खुशी मारेर बिवशतामा बांच्ने एक बिवश अनि लाचार परदेशी हुँ म । रोग,भोक,शोकमा एक्लै रुने एक्लै हाँस्ने गन्तव्य हो परदेश ।
यिनै दुख कष्ट र पिडाले आज आफ्नै मातृभुमी प्रति प्रगाढ माया जगाएको छ । त्यसैले त यहाँका गगनचुम्बी महल, चिल्ला सडक र सुन्दर बगैंचामा कहि कतै मेरा बा को चरचरी फुटेका तर स्वाभिमानी पैतालाले टेकेको डोबहरु देखिन मैले । आज त्यही आफ्नै माटोले बोलाएको आभास भएको छ मलाइ । जहाँ मेरो बा को पसिनाको मीठो गन्ध र म सानो छंदा मेरि आमाले अगेना छेउमा बसेर मलाइ चुसाउदै गर्दा पोखिएर आज पनि मगमगाइरहेको दुधको वास्नाले मलाइ फिर्ता बोलाइ रहेको छ । फर्कदैछु म मेरै जन्मभुमी । जुन स्वर्ग भन्दा प्यारो छ !
तनहुँका भिमाद नगरपालिका–९ पाथर्दीका थापा हाल वैदेशिक रोजगारीको शिलशिलामा दुबईमा हुनुहुन्छ ।