


व्यास नगरपालिकाको १३ नं. वडामा रहेको हरियाली सुन्तला घारी भएको स्थान वेनीकोटबाट करिव दुई किलोमिटरको दुरीमा दक्षिण पट्टिको चुचुरो जुन समुन्द्र सतहबाट करिव ८७५ मिटर जतिको उचाइमा सिद्ध मन्दिर रहेको पाइयो । त्यस स्थानबाट दमौली बजार, मादि नदिको नागवेली बहाव तथा उत्तर दिशा तर्फका हिमश्रृखलाहरु हेर्न सकिने र निकै नै मनमोहक देखिने रहेछ । उक्त स्थान सांस्कृतिक हिसाबले महत्वपुर्ण त यसै छ भने पर्यटकीय हिसाबले पनि त्यस स्थानलाई छोटो ट्रेकिङ रुटको रुपमा विकास गर्न सकिने देखिन्छ किनकी दमौली बजारबाट नजिकै रहेको दृश्यावलोकन गर्न र छोटो ट्रेकीङ गर्न रमाउनेहरुका लागि अत्यन्त उपयुक्त स्थान भएकव अनुभुति हुन्छ । त्यस मन्दिरले एक मौलिक तथा गहिरो आध्यात्मिक विश्वास पनि बोकेको पाइयो । वेनीकोट वासीहरुले एक आश्था र विश्वासको केन्द्रका रुपमा लिएर पूजाआजा गरेको देखियो । जुन मन्दिर वेनीकोट बासीहरुको पूर्ण आश्थाको केन्द्रको रुपमा रहेको र त्यँहाको वासिन्दाले उपेक्षा गरेको खण्डमा उक्त समाजमा केही न केही कुनै परिवारमा समस्या आउने छ भनि एक जना वृद्ध बुवाले भन्नु भयो । उहाँका अनुसार हाल सम्म यो मन्दिरमा वेनिकोटवासीले आफ्नो गक्ष अनुसारको पूजाआजा तथा धुपधयँर गर्दै आएका छौ तथापी दमौली बासी र नगरपालिकाको नजरमा भने ओझेलमा रहेको कुरा उल्लेख गर्नु भएको थियो । उक्त मन्दिरको पुर्वदिशामा करिव ९०० मिटरको उचाइमा झाक्री मन्दिर रहेको भन्ने कुरा पर्यटनविद् हरिसं गुरुङको भनाइ पनि सुनियो । वड नं १४ का वडा अध्क्ष काजीमान श्रेष्ठका अनुसार उक्त स्थानको थाप्लोको आसपासको क्षेत्रमा ठुलो फराकिलो चौर रहेको र उक्त चौरलाई तनहुँ एयरपोर्टको रुपमा विकास गर्न मिल्ने रहेको जानकारी गराउनु भएको थियो । त्यस स्थानको अहिले पुर्वाधार विकास र बाटोको निर्माण भइरहेको छ भन्ने कुरा स्थानीय वासी तथा पुर्व शिक्षक मान बहादुर आलेले वर्णन गर्नु भएको थियो ।


सिद्ध गुफा मन्दिर वास्तवमा भगवान शिवको आरधान गर्ने, पूजाआजा गर्ने मन्दिरको रुपमा देखियो । उक्त मन्दिर वेनीकोटको दक्षिणी थाप्लोमा घना जंङ्गलको बीचमा रहेछ । साल तथा चिलाउने र भोर्लेका अग्ला अग्ला रुखहरुले घेरिएको उक्त मन्दिरको पछाडी एक ठूलो ओडार वा गुफा रहेको देखियो । उक्त ओडारलाई सिद्ध गुफाका नामले चिनिदो रहेछ । उक्त गुफाको संरक्षणका लागि नगरपालिकाले रु एकलाख प्रदान गरेको वेनिकोट बन संरक्षण समितिको फल्क्समा देखियो । उक्त सिद्धगुफा भित्र एक जना ब्राह्मणले जनै लगाएर ध्यानमा बसिरहेको स्वरुपमा देखिने शिला रहेको पाइयो । उक्त मन्दिरका पुजारी श्रीवहादुर थापाका अनुसार उक्त मन्दिरमा भगवान शिवको पुजा तथा जल अर्पण गर्नको लागि बेनिकोटको फेदिमा बहने सेति नदिको किनारमा रहेको सुर्यकुण्डबाट गुफा वा ओडार भित्रभित्रै जल ल्याई चडाउने काम श्रृङ्ग ऋषिपुत्र जो ब्रह्मचारीको रुपमा रहि आजिवन सेवा गरेको भन्ने किम्वदन्ति सुनियो । साथै संस्कृतिप्रेमी देवी बहादुर वस्नेतका अनुसार उक्त मन्दिरमा अलौकिक शक्ति रहेको र विभिन्न लोकोक्तीहरुका अनुसार एक ब्रह्मणले नियमित यस स्थानमा शिवजीको सेवा गरेको र नित्य ओडार भित्रबाटै सेतिको जल ल्याई शिवजी लाई स्नान तथा अर्पण गर्ने गरेको भन्ने किम्वदन्ती सुनाउनु भएको थियो ।

त्यस हिसाबले उक्त गुफा सेति नदिको किनार सम्म फैलिएर रहेको अनुमान गर्न सकिन्छ । उक्त किम्वन्ति अनुसार उक्त सिद्ध मन्दिरमा पूजा गर्ने पुजारीका रुपमा अविवाहित र आठ वर्ष मुनिका युवकले पूजा गर्नुपर्छ भन्ने मान्यता रहेको देखियो । दुईजना मगर बटुकले प्रत्यक्ष पूजा आजा गरेको पनि देखियो । उक्त दुई जना मगर जातिका बाबुहरुले वर्षको दुईपटक मन्दिरको ढोका खोलि पूजा गर्ने प्रचलन रहेको छ भन्ने सुन्न पाइयो । हरेक वर्ष झै वैशाखको चण्डि पूर्णिमा र जेष्ठको गौडि पूर्णिमामा मन्दिरको ढोका खोली विशेष पूजा गर्ने परम्परा रहेको पाइयो । त्यस स्थानमा शिवालय मन्दिरको रुपमा रहेपनि बाहिरपट्टि बलि चडाउने वा परेवा उडाउने मगर जातिहरुको परम्परा रहेको देखियो । तर खास तथ्य के हो ? कसरी यस्तो परम्परा रह्यो । यसको स्थापना कहिले र कसरी भयो ? भन्ने खोजीकै विषय रहेको देखिन्छ । त्यँहा कुनै खालको सूचना लेखोट तथा कुनै प्रमाणहरु रहेको पाइदैन । त्यसैले खोजीकै विषयको रुपमा रहेको तर ओझेलमा परेको भौगोलिक हिसावले अग्लो स्थानमा रहेको उक्त मन्दिरको संरक्षण तथा त्यस स्थानको विकास गर्न सकेमा धार्मिक तथा पर्यटकिय हिसावले पनि राम्रो देखिन्छ । अझ थप विश्लेषण गर्दा व्यास नगरपालिका–१३ अन्तर्गत पर्ने वेनिकोट क्षेत्रको पहाडको टुप्पोमा अवस्थित वेनिकोट सिद्ध मन्दिर धार्मिक, सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थलको रूपमा त्यस क्षेत्रमा चिनिन्छ । यो मन्दिर कुनै प्राचीन हिन्दु ग्रन्थ—जस्तै वेद, पुराण वा रामायण–महाभारतमा प्रत्यक्ष रूपमा उल्लेख नभए पनि स्थानीय जनविश्वास, मौखिक परम्परा र किम्बदन्तीका आधारमा अत्यन्त पूजनीय मानिन्छ । “सिद्ध” शब्दले तपस्या गरेर आध्यात्मिक शक्ति प्राप्त गरेको अवस्थालाई जनाउँछ । स्थानीय कथाअनुसार, यस स्थानमा कुनै अज्ञात साधु वा तपस्वीले दीर्घकाल ध्यान साधना गरी सिद्धि प्राप्त गरेका थिए । त्यसै कारण यसलाई “सिद्ध मन्दिर” भनिएको हो । भगवान शिवसँग सम्बन्धित ध्यान–तपस्याको केन्द्रका रूपमा पनि यसलाई हेरिन्छ । गाउँलेहरूको विश्वासमा, यहाँ सच्चा मनले भाकल गर्दा मनोकामना पूरा हुने, रोग–व्याधि हट्ने र जीवनमा सफलता प्राप्त हुने गर्दछ भन्ने सुनियो । यस मन्दिर नजिकै रहेको गुफा यसको विशेष आकर्षण हो । हिन्दु परम्परामा गुफालाई तपस्या र ध्यानका लागि अत्यन्त उपयुक्त स्थान मानिन्छ । यहाँको गुफा पनि कुनै सिद्ध साधुको तपस्थली भएको विश्वास गरिन्छ । केही किम्बदन्तीअनुसार, गुफाभित्र रहस्यमय शक्ति रहेको छ र देवताको वास भएको मानिन्छ । हेर्न जानका लागि विहान नुहाइधुहाइ गरेर केही पनि सेवन नगरी जान पाइने र त्यस गुफामा पस्नको लागि भर्याङको व्यवस्था गरिएको पाइयो । यसले मन्दिरको आध्यात्मिक महत्व अझ बढाएको छ ।
तस्बिरहरूमा देखिएझैं, मन्दिर साधारण तर पवित्र संरचनामा रहेको छ र वरिपरि प्राकृतिक हरियालीले घेरिएको छ । स्थानीय भक्तजनहरू यहाँ पूजा, भाकल तथा सामूहिक धार्मिक गतिविधिमा पुर्णिमाको दिन सहभागी हुन्छन् । यसरी, वेनिकोट सिद्ध मन्दिर केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई स्थानीय पहिचान, संस्कृति र आध्यात्मिक विश्वासको महत्वपूर्ण प्रतीकको रूपमा स्थापित भएको छ । यस रमणीय स्थलको अर्को महत्वपूर्ण पक्ष भनेको त्यहाँ रहेको गहिरो गुफा हो । उक्त गुफाले केवल भौतिक संरचना मात्र नभई आध्यात्मिक र सांस्कृतिक अर्थ पनि बोकेको देखिन्छ । गुफा प्राचीन कालदेखि नै तपस्या, ध्यान र साधनाको स्थानको रूपमा मानिँदै आएको रहेछ । त्यसैले, वेनिकोटको गुफाले यहाँ कुनै समय ऋषि–मुनि वा साधकहरूले ध्यान साधना गरेको संकेत दिन सक्छ । यस्तो विश्वासले यस क्षेत्रलाई अझ रहस्यमय र पवित्र बनाएको छ । अर्कोतर्फ, गुफा पृथ्वीको गर्भ जस्तै भएकाले यसले प्रकृतिसँगको गहिरो सम्बन्ध र जीवनको मूल स्रोतलाई पनि संकेत गर्दछ । गुफाभित्रको अँध्यारोले जीवनका अज्ञात पक्षहरूलाई जनाउँछ भने त्यसभित्र पस्दा पाइने शान्तिले आत्मचिन्तन र आन्तरिक शुद्धिको अनुभव दिलाउँछ । यसरी, गुफा केवल प्राकृतिक संरचना मात्र नभई मानव जीवनका गहिरा अर्थ र आध्यात्मिक यात्राको प्रतीकको रूपमा व्याख्या गर्न सकिन्छ । यसरी, वेनिकोट सुन्तला घारी र त्यहाँको सिद्ध मन्दिरसँगै रहेको गुफाले प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र आध्यात्मिक रहस्यलाई एउटै स्थानमा समेटेको छ । यदि यस क्षेत्रको उचित संरक्षण र प्रचार–प्रसार गर्न सकियो भने, यो स्थान धार्मिक तथा पर्यटकीय दृष्टिले अझ महत्वपूर्ण गन्तव्य बन्न सक्ने सम्भावना प्रबल देखिन्छ । अस्तु ।
लेखक शिवपाञ्चायन मावि व्यास-३ का शिक्षक हुन्