तनहुँ : तनहुँको भानु नगरपालिका–१ का वृद्धको मृत्यु सम्बन्धी घटनामा दमौली अस्पतालले वास्तविकता बङ्ग्याउने काम भएको बताएको छ । वास्तविकता बङ्ग्याएर आम रुपमा भ्रम सिर्जना गर्न खोजिएको अस्पतालले प्रष्ट पारेको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले बुधबार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै भ्रमको खेती गर्नुभन्दा कोभिडबाट बच्न सचेतना फैलाउने स्वास्थ्यकर्मी र डाक्टरहरुलाई काम गर्न सहज वातावरण बनाउन आग्रह गर्नुभएको छ । कोभिडको बिरामी अस्पताल ल्याउँदा पहिल्यै जानकारी गराउने आम नागरिकको दायित्व भएको भन्दै विज्ञप्तीमा सबै जिम्मेवार, सचेत र सजग बन्न जरुरत रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, डाक्टरहरु र अन्य कर्मचारीलाई कत्तिपनि विचलित नभई उच्च मनोबल सहित जिम्मेवार पूरा गर्न अध्यक्ष अधिकारीले अनुरोध गर्नुभएको छ । कोभिडको महामारीका कारण स्वास्थ्य सामग्री, औषधी र अक्सिजनको अभाव विश्वव्यापी रुपमा रहेको उल्लेख गर्दैैै विज्ञप्तीमा यस्तो असहज अवस्थामा पनि दमौली अस्पतालसँग अहिले तत्काललाई आवश्यक पर्ने सामग्री मौज्दात रहेको जनाइएको छ । यी सामग्री कम हुन नदिनका लागि अस्पताल लागिपरेको जनाउँदै कोभिडका बिरामीहरुलाई भर्ना गरी उपचार प्रकृया शुरु भइसकेको जानकारी गराइएको छ । अस्पतालले अब आवश्यक पर्ने सामग्रीहरुको अभाव हुन नदिन सम्पूर्ण सरोकार निकायहरुसँग अपिल समेत गरेको छ ।
२६ गतेको घटना सम्बन्धमा
दमौली अस्पतालले बिरामीको उपचार गर्न नमानेकाले बिरामीको एम्बुलेन्समा नै मृत्यु भएको समाचारप्रति अस्पतालले ध्यानाकर्षण भएको जनाएको छ ।
श्वासप्रश्वासमा समस्या देखिएपछि भानु नगरपालिका–१ का शम्भुलाल श्रेष्ठ वैशाख २५ गते बिहान ४ बजे दमौली अस्पतालको इमर्जेन्सी कक्षमा आई उपचार गरेको र उपचारपछि १० बजेतिर घर फर्किएको इमर्जेन्सी रेकर्ड बुकमा उल्लेख रहेको जनाइएको छ । बिरामी इमर्जेन्सीमा आउँदा मौखिक रुपमा कोभिड सङ्क्रमित भएको छ भन्ने जानकारी गराइएको थियो । कोभिडको बिरामी भएपनि इमर्जेन्सीमा राखेर उपचार गरिएको र सामान्य उपचारपछि घरमा नै आइसोलेशनमा बस्ने गरी पठाइएको अस्पतालले जनाएको छ ।
विज्ञप्तीमा जनाइएअनुसार वैशाख २६ गते दिनको १ बजे बिरामी बिना अक्सिजन एम्बुलेन्स मार्फत् पुनः अस्पताल ल्याइएको र इमर्जेन्सीमा कार्यरत डा. पोष्टमार्टम सकेर एम्बुलेन्समा पुगेका थिए । त्यतिबेला १ः२५ बजेको थियो । बिरामीलाई एम्बुलेन्समा नै चेकजाँच गरी बिरामीको अवस्था नाजुक देखिएको र अक्सिजनको मात्रा ३५ प्रतिशत मात्र रहेकाले डाक्टर आफैले अक्सिजन लगाई छिटोभन्दा छिटो पोखरा लैजाने गरी १ः३० बजे रिफर गरिएको थियो । बाटोमा जाँदै गर्दा बिरामीको मृत्यु भएको र एम्बुलेन्स फर्काई पुनः दमौली अस्पतालमा ल्याइएकामा डाक्टरबाट १ः५० मा मृत घोषणा गरिएको विज्ञप्तीमा उल्लेख छ ।
पोखरास्थित ओम अस्पतालमा चेकजाँच गर्दा गम्भीर भएकाले भर्ना भई उपचार गर्नुपर्छ भन्दा भन्दै पनि बिरामी अस्पताल भर्ना नभई घरमा फर्किआएको ओम अस्पतालको बिरामी कार्डमा उल्लेख भएको विज्ञप्तीमा जनाइएको छ ।