तनहुँ : तनहुँको ऋषिङ गाउँपालिकाभित्र विवाह, भोजभतेर केही समयका लागि पूर्ण रोक लगाइने भएको छ। विवाह, भोजभतेरले कोरोना सङ्क्रमण फैलाउन सहयोग पुर्याएको निष्कर्ष सहित यस्तो कार्य केही समयका लागि पूर्ण रोक लगाउने निर्णय भएको हो ।
सोमबार गाउँपालिकाले भर्चुअल माध्यमबाट गरेको सर्वपक्षीय बैठकले स्थानीयहरु समेतको सहयोगमा विवाह, भोजभतेर जस्ता भीड हुने कार्य रोक्ने निर्णय गरेको नेपाल रेडक्रस सोसाइटी सभापति इन्द्र आलेले जानकारी दिनुभयो ।
बैठकले गाउँपालिका प्रवेश गर्ने नाकाहरूमा कडा निगरानी राख्ने र बाह्य जिल्ला वा देशबाट आएका गाउँपालिकावासीहरूलाई १५ दिन क्वारेन्टिनमा राख्ने निर्णय समेत गरेको छ ।
हालको पॉच शय्याको आइसोलेशनका क्षमता वृद्धि गरी २० शय्या पुर्याउने र कोभिड बिरामीका लागि गाउँपालिकाको गाडी प्रयोग गरिने भएको छ।
भर्चुअल बैठकमा पूर्वमन्त्री शिवलाल थापा, संविधानसभा सदस्य झुलबहादुर आले, गण्डकी प्रदेश लोकसेवा आयोगका सदस्य कल्पना लम्साल लगायतको सहभागिता थियो । गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले कोभिडबाट जनतालाई सुरक्षित राख्न हरसम्भव सबै उपाय अवलम्वन गरिने बताउनुभयो ।