दुलेगौडा : वडामा रहेका जनताको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तनहुँको शुक्लागण्डकी नगरपालि-८ ले आपतकालिन स्वास्थ्य स्वयंसेवक गठन गरेको छ । विज्ञ एवं सामाजिक सञ्जालमार्फत् आएका सुझाव बमोजिम स्वास्थ्यकर्मी सहित १८ जनाको आपतकालिन स्वास्थ्य स्वयंसेवक गठन गरिएको हो ।
एच.ए स्टाफ नर्स,अनमि,सि.एम.ए,रेडियोग्राफी, ल्याव असिस्टेन्ट लगायतको कोर्ष पूरा गरेर कोरोनाका कारण घरमा नै रहेका जनशक्तिलाई वडाको आग्रह बमोजिम निजहरुकै सहमतिमा परिचालन गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
उनीहरुलाई अक्सिमिटर,थर्मोमिटर,माक्स,स्यानीटाइजर,फेस सिल्ड,ग्लोव्स लगाएतका स्वास्थ स्वयंसेवकका लागि आवश्यक सामग्री वडाले नै उपलबध गराएको छ।
स्वास्थ्य शाखाका कर्मचारी नव गौतम, दिनेश थपलिया तथा सन्देश थापद्वारा प्रशिक्षण प्रदान गरि कार्यक्षेत्रमा खटाईएका स्वयंसेवकहरुले उच्च सतर्कताका साथ घरमा नै बिरामीको चेकजाँच गर्ने,कोरोनाको डरले रोग लुकाएर बसेका जनतालाई उचित परामर्शका साथ अस्पतालसम्म पुर्याउन सहयोग गर्ने तथा लक्षण देखिएकाहरुलाई वडासँग समन्वय गरि पिसिआर गर्न सिफारिस गर्ने लगायतका काम गर्नेछन्।