काठमाडौं फर्केपछिका दिनहरु बेचैनीमै बिते । अवस्था नै यस्तै ! एक मन लाग्थ्यो अब धौलागिरि गइदैन । यहीँ प्राइभेटमै काम गरिन्छ । स्नातक पनि सकिन्छ । अनि बल्ल प्रशासनतिरै भिड्नुपर्ला । तयारी गरेर खरदारको जागीर भन्दा किन मरिहत्ते गर्नु अब अफिसरकै तयारी गरौला । कमाईको हिसाबले यहीँ जागीर ठिक छ नभए नि राम्रा अवसर जतिपनि आउछन । अर्कोतिर हात्ती छिर्यो पुच्छर अड्क्यो अझै त ४० प्रतिशत आश छ नि ! अन्तरवार्ताको नतिजा पो पर्खेको लिखित त पास गरिसकियो नि ! यसरी मनको अन्तरद्वन्द्व चलिनैरह्यो ।
लिखितमा नाम निस्केको र अन्तरवार्ता दिएर आएको थाह पाएपछि क्याम्पसमा साथीहरुको जिज्ञासा बढी रह्यो । धेरै साथीहरु धुमधामकासाथ लोकसेवाकै तयारी गरिरहनुभएको थियो । खाली समय त उहीँ अन्तरवार्ताको मात्रै प्रसङ्ग चल्थ्यो ।
के के सोधे ?
कतिजना मान्छे थिए?
कत्तिको डर लाग्यो ? तपाई भने लोकसेवाको अन्तरवार्तासम्म पुग्नुभयो ।प्रश्नहरु हुन्थे ।
जे होस् यस विषयमा तपाईंको पढाई पुगेछ ।अब यसपाली सिफारिस हुनुभएन भने पनि अर्को पटक हुनुहुन्छ । हौसलाहरु हुन्थे ।
हामी कहिले पुग्ने ? साथीहरु एक अर्कालाई देखाएर भन्नुहुन्थ्यो मुक्तिजीको अब जागीर अब फलानाको पालो । आशङ्काका साथ आश्वाशन हुन्थे ।साथीहरुले जती लोकसेवाका प्रसङ्ग उठाउनुहुन्छ मलाई उती छटपटी भैरह्यो मान्छेलाइ जुन कुरामा दिलचस्पी छ उहीँ कुरामा न चासो हुन्छ ।
बिचमै नतिजा हुन्छ कि भन्ने लागिरहेपनि जेठ चारगतेसम्म पर्खिरहे ।जेठ पाँच गते रिजल्ट भएन अझै दुईचारदिन हुदैन रे !! फोनबाट सुनेको कुरा त्यो भन्दा बढी को संग बुझ्नु ।आजभोली झै वेभसाइट कहाँ हुनु ? नेट चलाउन साइबर जाने, घण्टाको २० रुपैया अनि चालिस मिनेट जति त साइटहरु खुल्नै लाग्ने !!
मलाई भन्दा धेरै खुल्दुली साथीसंगीलाई थियो उनीहरुलाई पनि साथी लोकसेवामा सिफारिस भएको सुन्नु मात्रै त के हुन्थ्यो र ! यहीँ बाहना हुन्थ्यो नि जमघटको लागि पनि ।साथी मात्रै कहाँ हो र घरतिरबाट हरेक दिन काकी फोन गरेर सोध्नुहुन्थ्यो तेरो रिजल्ट के भयो ? सदा झै उत्तर मलाई पनि थाह छैन नै पाउनुहुन्थ्यो ।
कुर्दाकुर्दै जेठ ११ गते अन्तरवार्ताको प्रतिस्पर्धि साथी राजेश पाण्डेको नम्बरबाट फोन आयो ।
रिजल्ट भयो रे ! तर हाम्रो नतिजा के भयो कसैले भनेनन् । थाह भएन ।
मुटुको धड्कन यस्सै बढ्न थाल्यो ।
आत्तिए जस्तो केही भेटे जस्तो केही गुमेजस्तो ! खुशी हुनु कि दुखी ?
एकैछिनमा होसमा आए ।
लोकसेवा आयोग धौलागिरी अञ्चल कार्यालय वाग्लुङले नायब पशुसेवा प्राविधिक र नायब पशुस्वास्थ्य प्राविधिकको नतिजा पो निकालेको हो । भित्तामा टाँसिने सूचनापाटीमा मेरो नाम छ कि छैन कसले भन्ने ?
यस्तो बेलामा आफ्नो काम कसलाई लगाउने ? घुमिफीरी काम लगाउने त उहीँ साथीहरुलाई नै हो नि !
रघुनाथ पाण्डे धौलागिरि प्राविधिक शिक्षालयको हाम्रो साथी हुनुहुन्थ्यो उमेरले २/३ वर्ष जेठो भएको कारण पनि म रघु दाई भन्थे ।वाग्लुङ बजारमा घर हुनुको हिसाबले लोकसेवाको परिक्षा दिन आउनु रघुदाईको लागि साथीभाइलाई भेट्नु रमाईलो गर्नु नै थियो । किनकी एकपटक डेनमार्क जाने भनेर काठमाडौंको एउटा कन्सल्टेन्सीमा भेट्दै थोरै तलब आउने जागीर नखाने बरु विदेश जाने नत्र व्यवसाय नै ठिक भन्ने उहाले भनिसक्नुभएको थियो । इच्छा आ-आफ्नो, तर मेरो अन्तरवार्ताको दिन पनि लोकसेवामा आएर मेरो हौसला बढाउने रघु दाई नै नतिजा सुनाउने उपयुक्त पात्र लाग्यो ।
फोन लगाईहाले । दाई तुरुन्तै पुगेर हेर्ने अनि मलाई खबर गर्ने भन्ने भैहाल्यो । दाईको तुरुन्तै मलाई ३ वटा कुकुरको भ्याक्सिनेसन सकाउने समय लाग्यो ।
लगातारको आधी आधी घण्टाको फरकमा गरेको ३ पटकको घण्टी नउठेपछि स्वयं रघुलाईकै फोन आयो । हेल्लो भन्दा पहिले बधाई सहित !!
जिल्ला पशुसेवा कार्यालय म्याग्दीमा सिफारिस ।।खुशी यस्तरी बढ्यो कि दशवटा सगरमाथाको उचाई पनि मेरो खुशीको उचाई भन्दा कम हुन्थ्यो ।
नक्साल नागपोखरीबाट हात्तीसार जादै थिए । मोटरसाईकल छेउ लगाएँ अनि फर्के नागपोखरीभित्रको पार्कमा ।अनि अरु को को सिफारिस भएछन् ? मान्छे हो, आफ्नो भन्दा अरुको पनि चासो बढी लाग्ने ! दोलराज गैह्रे, मुस्ताङ जसको नाम बाहेक मान्छे पनि देखेको थिइन । राजेश पाण्डे पनि म्याग्दी ।वैकल्पिक पर्ने साथीहरुको एक एक नाम सुनेपछि पार्कमा बसेर मोबाईलमा रकम हुदासम्मका क्रमैसंग सबैलाई नाम निस्केको कुरा बताए । अब भने काठमाडौं छाड्नुपर्ने पो पिर पर्न थाल्यो । त्यसपछि त्यो दिन अरु काम भएन । बोसलाई भेटे ! बधाई दिनुभयो ।
अब हाजिर गर्न कहिले पुग्नुपर्ने हो ? यताको जागीर सामान सुविधा सब तिलाञ्जली । दिमागले म्याग्दी सम्झिन खोज्यो । २०६० चैत ९ गतेको बिहान धुवाँ उड्दै गरेको, अघिल्लो रातभरको युद्धले ध्वस्त भग्नावशेष बनेका सरकारी भवनहरु । तिनै भवन मध्ये एउटामा छ जिल्ला पशुसेवा कार्यालय । म अब तिनै मध्यको एक घरमा जान्छु जागीर खान ।बेलुका कोठामा पुग्दा भाईहरुले खुशी दोब्बर पारे ।
आरआर क्याम्पसमा साथीहरुलाई क्यान्टिनमा समोसा पाटी । कार्यालयमा साथीहरुले जमघट राख्नुभयो सबैले उपहार र सम्मान सहित बिदा गरेपछि जेठ सत्र गते बसपार्कबाट पोखराको बस चढे भएका सामालतामल पोको पारेर । कान्तिपुरमा छापिएको आवश्यकताको चिर्कटो बोकेर काठमाडौं छिरेको लोकसेवाबाट सिफारिस भएपछि फिर्ति भए।मलाई काठमाडौंले धेरै कुरा दियो, सिकायो, सिकाएपनि काठमाडौंले धेरै कुरा दिएपनि ति सबै एकअसिमको सौदाबाजी थियो ।
मोटरसाईकल बेचिदिए । किनभने उसबखत भावनात्मक रुपमा काठमाडौमा बसपार्कबाट गाडी चढाएर कलङ्कीमा झरेका एकजोडी टिलपिलाउदा आँखा बाहेक केही छुटेजस्ता लागेनन्।बसले नागढुङ्गा कटेपछि गोजीमा छामे मोबाइल सेट निकाले घर फोन गर्छु भन्ने सोचे । मोबाइलको स्क्रिन देखेपछी झसङ्ग भए । मैले त सिम काठमाण्डौमै छाडे नि ! त्यो सेट र आफ्नो अवस्था उस्तै उस्तै लाग्यो ।।