गण्डकीका मन्त्रीले आज जिम्मेवारी पाउने, मनाङे असहमत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीका मन्त्रीले आज जिम्मेवारी पाउने, मनाङे असहमत

    खबरपुञ्ज संवाददाता

    १२ असार २०७८, आईतवार

    पोखरा : गण्डकी प्रदेश सरकारका ४ विनाविभागीय मन्त्रीहरुले आज जिम्मेवारी पाउँदै हुनुहुन्छ । शुक्रबार नै जिम्मेवारी टुङ्गो लागेको भएपनि आजमात्र उहॉहरुलाई जिम्मेवारी दिन लागिएको हो । 

    ‘शुक्रबारको बैठकले नै टुङ्गो लागेको हो, शनिबार गर्नुभन्दा आइतबार पारेर गरौं भनेर आज गर्न लागेका हौं,’ सरकारका प्रवक्ता कुमार खड्काले भन्नुभयो ।

    सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कुमार खड्काका अनुसार बजेटमाथि छलफल नसकिँदासम्मका लागि लक्षित गरी मन्त्रालय टुंग्याइएको छ । मुख्यमन्त्री नियुक्त भएकै दिन २९ जेठमा मुख्यमन्त्री पोखरेलले ४ मन्त्रीसहित सपथ लिनुभएको थियो । 

    कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी, जनता समाजवादीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङे मन्त्री बन्नुभएको छ । तर अहिलेसम्म उनहरुको मन्त्रालय टुंगो लाग्न सकेको छैन । मन्त्रीहरुको विभाग टुंगो नलागेपछि बजेटमाथिको छलफल पनि अन्योलमा छ ।

    स्रोतका अनुसार विवादित बनेका अर्थ र भौतिक मन्त्रालय बजेटमाथिको छलफलसम्मका लागि मुख्यमन्त्री आफैं राख्ने भएका छन् । अर्थ र भौतिक मन्त्रालयमा लामो समय किचलो भएको छ । 

    अर्थ मन्त्रालय जनता समाजवादीलाई दिन मुख्यमन्त्रीले लिखित सहमति गर्नुभएको थियो । भौतिकमा माओवादीको दाबी छ । तर कांग्रेसले अर्थ जनता समाजवादीलाई दिन नचाहेपछि विवाद भएको हो । 

    अरु मन्त्रीको पनि शुक्रबार कार्यविभाजन भएको छ । स्रोतका अनुसार मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाउने हुनुभएको छ । कांग्रेसका कुमार खड्काले तत्कालका लागि सामाजिक विकास मन्त्रालय लिनुहुनेछ ।

    स्वतन्त्र सांसद दीपक मनाङेलाई मुख्यमन्त्रीले युवा तथा खेलकुद मन्त्रालय दिने तयारी छ । यद्यपि मनाङे त्यसमा असहमत हुनुहुन्छ । आफूलाई सरकार गठनका बेला भौतिक दिने भनिएकाले भौतिक मन्त्रालय नै दिनुपर्ने उहॉको अडान छ । भौतिक नपाए सरकारमै नजाने उहॉको टिप्पणी छ । जनता समाजवादीका हरिशरण आचार्यले ऊर्जा तथा सिंचाइ पाउनुहुनेछ ।

    मुख्यमन्त्री पोखरेलले ४ गते विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार गर्ने योजना बनाउनुभएको थियो । तर दलहरुबीच विवाद भएपछिउनले विनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोक्न र मन्त्रिपरिषद विस्तार गर्न सक्नुभएको थिएन । (समाधान दैनिकबाट)