पाेखरा : गण्डकी प्रदेश सरकारकाले कालीगण्डकी डाइभर्सनले दीर्घकालिन र तत्कालिन असर पार्ने बताउँदै विरोध जनाएको छ । एकातिर जलमार्गको सम्भाव्यता गर्ने अर्कोतिर डाइर्भसनको परियोजना कार्यालय स्थापना गर्ने संघ सरकारको गतिविधि नै शंकाको घेरामा रहेको भन्दै गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले आलोचना गर्नुभएकाे छ ।
‘गण्डकी प्रदेश सरकारसंग समन्वय नै नगरी एकतर्फी ढंगले डाइर्भसन आयोजना अघि बढाएर सरकारले प्रदेश–प्रदेशबीच द्वन्द्व निम्त्याउने काम गरेको छ’ मन्त्री खड्काले भन्नुभयाे । कालीगण्डकी नदीसंगै सभ्यता भएको उहाँको भनाई छ । यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि कालीगण्डकी डाइभर्सनको चर्को विरोध गर्दै आउनुभएकाे थियाे ।
मुख्यमन्त्री गुरुङ क्याविनेटका अर्थमन्त्री एवं एमाले नेता किरण गुरुङले आयोजनाको कार्यालय स्थापना भएपछि भारतीय शासकको स्वार्थ अनुरूप सङ्घीय शासन प्रणालीको भावना, मूल्य र मान्यता विपरित आयोजनाको काम भएको टिप्पणी गर्नुभएकाे छ ।