भ्रामक सूचना रोकथामका लागि डिजिटल मिडिया साक्षरता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    भ्रामक सूचना रोकथामका लागि डिजिटल मिडिया साक्षरता

    खबरपुञ्ज संवाददाता

    १२ असार २०७८, आईतवार

    तनहुँ : मिडिया एक्सन नेपालको आयोजनामा भ्रामक सूचना रोकथामका लागि डिजिटल मिडिया साक्षरता विषयक गण्डकी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ । भर्चुअल माध्यमको प्रयोग गरी भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमार खड्काले सूूचना समाचारसँग सीमित रहेकाले सही सूचना प्रवाह हुन आवश्यक रहेको बताउनुुभयो ।

    सरकारका प्रवक्ता समेत रहनुभएका खड्काले सञ्चारमाध्यमलाई राज्यले नियन्त्रित गर्न नहुने बताउनुभयो । सञ्चारमाध्यमलाई स्वतन्त्रता र स्वायत्त छोडनुपर्छ भन्ने पक्षमा प्रदेश सरकार रहेको उहाँको भनाई छ । “हामी विज्ञहरुसँग छलफल गरी सञ्चारमैत्री नीति ल्याउन र भएका नीतिहरुलाई परिमार्जन गर्ने तयारीमा छौ,” खड्काले भन्नुभयो ।

    सञ्चार क्षेत्रले स्वनियमन गरोस् भन्ने चाहना रहेकाले कतै बाटो बिरायो भने प्रेस काउन्सिलले कदम चाल्नुपर्ने खड्काले बताउनुभयो । पत्रकारलाई स्रोत र साधन सम्पन्न बनाउन र क्षमता अभिवृद्धिका लागि अधिकतम सहयोग गर्ने मन्त्री खड्काले प्रतिबद्धता जनाउनुभयो ।

    प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य दुर्गा भण्डारीले सामाजिक सञ्जाल अहिलेको प्रमुख चुनौती भएको बताउँदै सामाजिक सञ्जाल सूचना दिने माध्यमको रुपमा हेरिएको भएपनि सामाजिक सञ्जालबाट गलत सूचना सम्प्रेषण हुँदै आएको बताउनुभयो ।

    नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले प्रविधिको विकाससँगै यसको सदुपयोग कसरी गर्ने भन्ने चुनौती पनि थपिएको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ कास्कीकी अध्यक्ष विमला भण्डारीले भ्रामक सूचना रोकथाम तर्फ अझै नियमक संस्थाको नजर पर्न नसकेको बताउनुभयो ।

    मिडिया एक्सन नेपालका केन्द्रीय अध्यक्ष लक्ष्मणदत्त पन्तले पत्रकारिताजन्य विषयवस्तुलाई नियमन गर्न बनेका सङ्घसंस्थाले पत्रकारिताको मात्र चिन्ता गरे पत्रकारिता व्यवसायिक बन्ने बताउनुभयो । मिडिया एक्सनले स्थापनाकालदेखि नै विभिन्न सङ्घसंस्थासँग मिलेर मिडियाको स्वतन्त्रता, विकास र मिडियालाई जिम्मेवार बनाउने काम गर्दै आएको जानकारी दिनुभयो ।

    कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै मिडिया एक्सन नेपालकी सचिव आरती शिल्पकारले गलत सूचनाबाट सुरक्षित राख्न र पत्रकारले उत्पादन गरेका सामग्रीलाई विश्वसनीय बनाउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम गरिएको बताउनुभयो ।

    गण्डकी प्रदेशका ११ जिल्लाका पत्रकार महासङ्घका अध्यक्ष, प्रेस सम्वद्ध सङ्घसंस्थाका अध्यक्ष लगायत ४० भन्दा बढी क्रियाशील पत्रकारहरुको सहभागिता रहेको उक्त कार्यक्रमको सहजीकरण संस्थाकी गण्डकी प्रदेश संयोजक सुनिता आचार्यले गर्नुभएको थियो । मिडिया एक्सन नेपालले ७ वटै प्रदेशमा मिडियाका विभिन्न सवालमा प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ ।