दमाैली : एसओएस बालग्राम नेपाल केशवटार शाखाले अभिभावकविहीन बालबालिकाको उद्धारउन्मुख कार्यक्रम सञ्चालन गरेको छ । बालबालिकाको हकहित र उत्थानलाई मुख्य उद्देश्य बनाएर काम गर्दै आएको बालग्रामले आइतबार व्यास–१४ को बेलभञ्ज्याङमा अभिभावक नभएका बालबालिकालाई बालअधिकार, शिक्षा र हक सम्वन्धि घरदैलो कार्यक्रम सम्पन्न गरेको हो ।
अभिभावकविहिन रहेका बालबालबालिकालाई बालग्रामले शिक्षा, स्वास्थ्य र दैनिकी जीवन गुजारामा सहयोग गर्दै आएको परियोजनका संयोजक अमृत पन्थीले जानकारी दिनुभयो । “जसको अभिभावक छैनन्, शिक्षा र स्वास्थ्यको पहुँच नभएका बालबालिकाको क्षेत्रमा हामीले काम गर्दै आएका छौ,” उहाँले भन्नुभयो ।
वडासँगको समन्वयमा सम्पूर्ण बालबालिकालाई शिक्षा र स्वास्थ्य तथा अधिकारमा बालग्रामले सहयोग गर्दै आएको छ । त्यसका लागि वडाध्यक्षको संयोजकत्वमा वडा सदस्यहरु, युवा क्लवका प्रतिनिधि, आमा समूहका प्रतिनिधि र विद्यालयका प्रधानाध्यापक सदस्य रहेको समितिले सहजीकरण गर्नेछ ।
जो बालबालिका शिक्षाको पहुँचबाट टाढा रहेका छन् उनीहरुलाई अपनत्व लिने काम गरेको केशवटार उच्च माविका प्रधानाध्यापक दुर्गा बहादुर आलेले बताउनुभयो । बालबालिका मात्र नभई विपन्न अभिभावक समेतलाई आयआर्जनमा सहजीकरण गरेर बालग्रामले महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो ।
वडाध्यक्ष काजीमान श्रेष्ठले बालग्रामले केशवटारमा समाजिक उत्तरदायित्व बहन गर्दे आएको वताउनुभयो । अहिलेको कार्यक्रमले बालबालिकाका आमाबुबा आमावुवा नभएको, भएर पनि स्याहार सुसार नपाएका, अभिभावक गुमनाम भएका बालबालिकालाई शिक्षा, स्वास्थ्य र रोजगारीका लागि भूमिका खेल्ने बताउँदै उहाँले बालग्रामले खेलेको भूमिका अत्यन्तै सराहनीय रहेको उल्लेख गर्नुभयो ।