काठमाडौं : नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ । अब एमालेका कामकारवाही केन्द्रीय कमिटीकै नामबाट सन्चालन हुने भएका छन् ।
बुधवार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई थप गरेको छ ।
महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत निष्क्रिय भएको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
सर्वोच्च अदालतको पछिल्लो आदेश अनुसार सबै कारवाही निस्प्रभावी भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो । बुधबार भएको महाधिवेशन आयोजक कमिटीको अन्तिम वैठकपछि बोल्दै ज्ञवालीले सो जानकारी दिनुभएको हो ।
नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लवेखराज भट्ट, मणि थापा स्थायी कमिटी सदस्य बन्नुभएको छ । यसअघि एमालेका पदाधिकारीहरू यथावत रहने निर्णय भएको छ ।