म्याग्दी मेरो जागिरको शुरुवात मात्रै हैन वास्तविक जीवन भोगाईको परिक्षणको शुरुवात पनि थियो । समाजशास्त्रको विद्यार्थीको नाताले इभोलुसन थ्यौरीका शुरुवातकर्तालाई आर्म चियरिस्ट भनेर गाली गर्ने जमातसंग सहमत हुदै गर्दा आफ्नै देशको विभिन्न समाजका वास्तविक अनुहार हेर्ने अवसर पनि भएको थियो ।
बेनीबाट पश्चिमतिर लाग्दा पूर्वबाट उदाउने घाम झै मैले बुझेको विकास विस्तारै शंखेकिराको गतिमा अगाडी बढेको जस्तो अनुभव भएको थियो । दरवाङबाट उत्तर लागेपछि त त्यै शंखेकिरा नि आफ्नो खोलभित्र पसेर आफ्ना मसिना एण्टिना मात्रै बाहिर निकालेको अनुभूति हुन्थ्यो ।
बिजुली नभएको, खानेपानी पधेँरोबाट बोक्नुपर्ने, मोबाइले कामै नगर्ने काम गरे पनि चार्ज गर्ने ठाउँ? यातायात त एघार नम्बर, अनि ढुवानीको साधन घोडाखच्चड । हुन त म पनि यहिँ खालको भुगोलबाट आएको हुँ नि ! तर दुइचार वर्ष काठमाडौं बसेकोले होला, कुन दुनियाँमा छु पो लाग्ने ।चुरेन हिमालको काखमा धौलागिरि को कुममा बसेको जस्तो, म्याग्दी नदीको बेँशीबाट अलि माथि झुरुप्प परेका घरहरु भएको बाक्लो गाउँ, गाउँको माथिपट्टी घोडाको लिदीको गन्ध आउने, लमतन्न तन्किएको घोडेटो बाटो, अनि माथिसम्म यत्रतत्र छरपस्ट छरिएका घरहरु, म्याग्दीका अरु ठाउँभन्दा तुलनामा बढि सम्म भएको दुइचारवटा सानासाना होटल, दुईवटा खाद्यान्न पसल मेरो पहिलो दृष्यमा ताकमको केन्द्र बजार ।
“राजन होटल”
वृद्धभत्ता बाड्न आउने गाविस सचिव, बाहिरबाट आएका सरकारी कर्मचारीहरु,विकासे भनिने एनजियो आइएनजियोका स्टाफहरुको विश्रामस्थल ।ताकम भन्दा माथि मुना, मुदी, लुलाङ तथा गुर्जा अनि ढोरपाटन रुकुम सम्मका यात्रुहरु, अझ भनौ त्यस ठाउँमा पुग्ने सुकिला-मुकिलाले आश्रय लिने ठाउँ । नयाँ आएको भेट्नरीको कर्मचारी भनेपछि मलाई उही ठाउँ देखाईदिए ।
नमस्ते है !! मेरो छोराको उमेरको भए नि सर रैचन् कस्तो भर्खरको ? राजन होटल छिरेर चिनापहिचान हुनेबित्तिकै होटलकी साहुनी फूलमती थापाले भनेका शब्द।
अब ताकममा हुँदासम्म आश्रय लिने ठाउँसम्म पुगीसकेको थिए ।सिमटको घर झै सफा छैन त्याँमाथि आगो फुक्नुपर्छ । यस्तै छ यहाँ कहिलेकाहीँ मात्रै बस्ने हो केरे । गाउँघरको भाषामा आँटीमा रहेको कोठालाई काठको फल्याकले दुइतिर विभाजन गरेर बनाईको लस्करै चारवटा खाट राखेर सुत्नको लागि व्यवस्था गरेको कोठा। एकातिर हामी जस्ता सरहरु बस्ने रे अर्कोतिर खच्चड ड्राईभर र अन्य गाउँका यात्रुहरु ।बिजुली नभएको तर सोलार बत्तीको सदुपयोग गर्नको लागि होला एउटा चिमले दुईतिरै उज्यालो हुनेगरी व्यवस्था गरेको ।
खाने बस्ने व्यवस्था भयो । राम्रो ।मान्छे सामाजिक प्राणी हो समाजमा मिले बस्न खोज्छ । कसैले आफ्नो गकाम, सहयोग, पराक्रम, दम्भ आडम्बर जे देखाउन परे पनि समाजमै देखाउछ ।समाजले देखिन मान्छेका यि चिजवस्तुको पहिचान हुन्छ । अब मेरो पहिचान देखाउने पनि त यहीँ समाजलाई हो म ज्युँदजाग्दो भको यहीँ समाजले देख्छ । म सहयोगी भए यही समाजले सहयोग पाउछ ।अपराध गरे यहीँ समाजले बहिस्कार गर्छ । धनी भए चाकडी गर्छ गरिब भए तिरस्कार गर्छ । जे होस् समाज छ र त म छु म छु र त समाज छ ।
हरेक समाजको आफ्नै लय हुन्छ आफ्नै ताल हुन्छ आफ्नै पद्धति हुन्छ ।कोही पानी रुपी समाजमा चिनीझै घुलेर बस्छन् कोही तेल झै तैरीएर तर समाज भन्दा टाढा जान कोही सक्दैनन् ।
म पनि यहीँ समाजमा बस्नुछ ।सरकारले खटाएको, हाकिमले अह्राएको जनताको काम गर्न ।
खाना बनाउन विभिन्न सामाग्री जुटाउनुपर्ने झण्झट एकातिर अनि रंगीन साँझको अवसर र स्वादको कारण राजन होटलमा खाना खाने अरु कर्मचारीहरु हुनुहुन्थ्यो स्वास्थ्यका शिवजी दास, कृषिका राम रतन साह र राम कलेश साह । अनि कहिलेकाहीँ आउने गाविस सचिव भुवन मल्ल भने सुत्ने पनि त्यहीँ ।उहाँहरुबाट नै मैले गाउँ, त्यस ठाउँको सामाजिक वस्तुस्थिति र त्यहाँको पशुपालनको बारेमा धेरथोर जानकारी पनि पाए ।
कर्मचारीहरुको साँझ प्राय रमझमपूर्ण भए पनि त्यो रमझममा मलाई कहिल्यै इच्छा भएन ।अरु सबैजना कर्मचारी फूलमती दिदी भन्थे म आमै भन्थे उहाँको छोरा राजनले पनि अरुलाई सर र मलाई दाई।फूलमती आमैको भाइ त्यहाँको जल्दोबल्दो मान्छे । माविको हेडसर भएकाले र कर्मचारी उहाँको संगतमा पहिले पर्ने र सरको दिदि हाम्रो पनि दिदि भन्ने नेपाली मनोभावले पारेको प्रभाव पनि हो ।
होटलमा अरु कर्मचारी भन्दा अलि धेरै बसेको कारण होला म त्यो परिवारको सदस्य जस्तै हुन पुगे ।बिहान चाडै उठ्ने पँधेरामा नुहाउन जाने खाना पकाउन आमैलाई सहयोग गर्ने । १० बजे अफिस जाने कृषिका साथीहरु भए गफ गरेर बस्ने । खासै काम भएन तर होटलमा तरकारी काट्दिने आमै पानी लिन जादा अगेनाँको आगो निभ्न नदिने आदि आदि ।आमै पनि लौ मेरा त अहिले दुईवटा छोरा भए भनेर मख्ख पर्थिन ।
संसारमा सबैको आ-आफ्नो कथा हुन्छ आ-आफ्नै ब्यथा हुन्छ ।कहिल्यै रिसाउन नजान्ने, मनमा कुण्ठा पालेर नबस्ने फूलमती आमैका पनि आफ्नै कथाहरु थिए आफ्नै ब्यथाहरु थिए ।ति कथाहरु कति दुःखका कति सुखका ।बेनीतिरका ताकम गाउमा पुग्ने जो कोही सर मेडमको आश्रयस्थल त्यही थियो फूलमती आमैको होटल । गाग्रीमा पानी बोकेर दाउराको जोहो गरेर खच्चडको पिठ्यूमा आएको चामल पकाएर पनि म्याग्दीका अरु स्थानको भन्दा सस्तो खाना पाइनुको मात्रै हैन स्वाद पनि उस्तै मिठो ।
म्याग्दी बसुन्जेलका यादहरुमा सबैभन्दा पहिले आउने अनुहार अहिले पनि फूलमती आमैको नै हो ।अरुले देख्दा सोझी दुःख पाएकी आइमाई ! तर मेरो नजरमा साहसी र हिम्मतकी खानी, कहिल्यै अरुलाई नपिराउने आँखाको नानी ।
ताकम गाउँ गाउँ मात्रै नभएर म्याग्दीको त्यो भन्दा माथिल्लो भेकको लागि बजार पनि थियो ।तत्कालिन इलाका स्तरका हेल्थपोष्ट,हुलाक, वन,कृषि र पशुसेवा कार्यालय भएको ।मान्छेको राम्रै आवतजावत हुने थलो । अझ साना योजना बन्ने कार्यान्यन नहुने हाम्रो देशमा त्यस ठाउँमा साना सहरी योजना पनि परेको थियो ।यसले मान्छेलाई गफ गर्नको लागि मसला थपिएको थियो ।नेपालका हरेक ठाउँहरु र त्यहा बस्ने मानिसहरुको चालचलन र बानी ब्यहोरा उस्तै लाग्छ । म मेरो गाउँको प्रतिबिम्ब त्यस ठाउँमा पाउथे ।अलि अलि पैसा भएको, ठूलो जातको र समाजमा रवाफ देखाउन सक्ने मान्छेले जे बोलेपनि ठिक अरु सबै बेठिक । समाजिक काममा अग्रसर हुने
म्याग्दीको बारेमा लेख्दै गर्दा उक्त ठाउँको याद आयो ।पुरानो फेसबुक बन्द भएपछी धेरै पुराना साथीहरु छुटे चाहेर नचाहेर सबैसंग जोडिन सकिन । राजनलाई सम्झे, अनि खोजे साथीको लागि अनुरोध गरे ।उ जापान पुगेको रहेछ । श्रीमान् बितेर भारतबाट एक छोरा काखमा र एक छोरी पिठ्युमा बोकेर घर फर्किदा आमैलाई सारा जीवन अध्यारो लाग्दो हो ।“दोबाटोमा बसेर अर्काको जुठो भाडा माझ्दा मागेर खानीलाई जस्तो व्यवहार गर्थे बाबु” । कहिलेकाहीँ आमैले दुखेसो पोख्थिन् ।
धेरै भएको थियो म त्यस ठाँउबाट हिडेको । दुर्इ चार दिन बसेर खाने म जस्ता छोराहरु कति हुदाँहुन् ।नचिन्नु स्वभाविक थियो । उनले राजन भनिन् हैन भने सूर्य (देवरको छोरा) भनिन् हैन भने अर्को को छोरा हो ? मुक्ति हुँ भनेँ । ए .. लामो लेघो तानिन् तिमी त सर पो हो ! वास्तविबता र व्यङ्य दुवै थियो उनको बोलीमा । पहिलपहिले पो बाटोमा बस्थे सरहरु म्याडमहरु आउथे खाना खान्थे बास बस्थे जान्थे मलाई कसले सम्झिन्थो होला र मैले सम्झिने । अब त कान पनि सुन्दिन ।झन् बुढी भए मासु माग्दा आँशु सुन्छु । होटल गर्न पनिँ छाडे ।अनि राजनले पक्की घर बनाइदिएको छ बेलामा पैसा पठाउछ ।छोरी पनि युकेतिरै छिन ।राम्रै छ मुक्ति । फूलमती आमैको बोलीमा प्रशन्नता र सन्तुस्टी दुवै भेटिन्थ्यो ।
फूलमती आमै भन्थिन खै ! राजन लाहुरे भएन, जागिर खाएन, मै बुढीले अर्काको भाडा माझेर कमाएकोले घर चलेको छ ।बेलाबेलामा म भन्दा पाँच छ वर्षले सानो राजनलाई मसंगै तुलना गर्न खोज्थिन ।राजनका पनि आफ्नै सपना थिए, उमेर र बेला पनि उस्तै थियो। साँझमा कहिलेकाहीँ अरुको रमझम चल्दैगर्दा हामी भने रुमानी संसारमा रुमलिन्थ्यौ । आफ्नो सपनाको पछि दौडिनलाई मेरो समर्थन खोज्थ्यो ।
बाह्र वर्षपछि खोलो फर्किन्छ भन्छन् ।फूलमती आमैका दुःखका खोला फर्केछन् ।राजनले विहे गरेछ जापान गएछन् बुढाबुढी नै ।कमाइ राम्रो हुने नै भयो ।कमाइ त रो पनि राम्रै छ । श्रीमानश्रीमती नै डिग्री पास छौ ।मेरो निजामतीको जागिर नै बाह्र वर्ष भयो । श्रीमतीको पनि अधिकृत स्तरकै जागिर राम्रै छ ।
आज म फूलमती आमै र मेरी आमा दुवैलाई तुलना गर्न पुगे । दोबाटोमा बसेर अर्काको जुठो भाडो माझ्ने फूलमती आमै आज सन्तुष्टीको बाक्य बोल्छिन ।हिजो काम नलाग्ने भयो भन्ने राजनले गाउँमा पक्की घर बनाइदिएको छ,पैसा पठाईदिएको छ । आमा खुशी छन् । अर्काको अधिँया कमाएर मलाई दुईछाक जुटाउने मेरीआमाको मुहारमा भने अझै सन्तुष्टी दिन सकेको छैन ।आफुसंगै जागिर शुरु गरेका साथीहरुको प्रगति देख्दा न डाह गर्न सक्छु न त इर्ष्या ? न त देखासिकी नै ! न त आमालाई विद्यमान अवस्थाबाट बाहिर ल्याउन नै सकेको छू । जागिरे जीवनको बाह्रवर्षमा मेरो खोलो कहिले फर्कने भन्दै कुदै बसेको छु ।सायद मेरी आमा पनि … ।