तनहुँ : तनहुँको व्यास नगरपालिका–१ भादगाउँ र १३ बेलबास जोड्ने छाब्दीखोलास्थित पुल गत बुधबार राति आएको बाढीले भत्कियो । पुल भत्किएसँँगै जिल्लाका दक्षिणी भेगका सर्वसाधारणलाई समस्या भएको छ ।
पुल भत्किए लगत्तै तनहुँ क्षेत्र नं १ का विघटित प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्बाङलाई बेलिब्रिज जडानका लागि ज्ञापनपत्र बुझाउनुभयो । मन्त्रालयले भानुस्थित तुरतुरेमा रहेको बेलिब्रिज छाब्दीखोलामा जडान गर्ने प्रकृया शुरु गरिसकेको निवर्तमान सांसद श्रेष्ठले बताउनुभयो । “हप्तादिनभित्र सबै सामग्री आइपुग्छ, म पनि केही दिनभित्रै जिल्ला आउँदैछु, पुल निर्माण सम्पन्न गरेरमात्र काठमाडौ फर्किन्छु,” उहाँले भन्नुभयो ।
बेलिब्रिज जडानका लागि आवश्यक खर्च राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणमार्फत् जुटाउन प्रयास थालिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोख्रेलले प्राधिकरणसँग आवश्यक बजेट नभएपनि बजेटको स्रोत खोजी गरिएको जानकारी दिनुभयो । “प्राधिकरणसँग छुट्टै कोष छैन, विभिन्न कोषमा बजेट मागका लागि सिफारिस गर्नुपर्ने हुन्छ,“ उहाँले खबरपुञ्ज डटकमसँग भन्नुभयो ।
बेलिब्रिज जडानका लागि कति खर्च लाग्छ भन्ने इष्टिमेट गरेपछि मात्रै थाहा हुने उहाँले बताउनुभयो । “इष्टमेटका लागि फिल्डमा प्राविधिक खटाइसकिएको छ, प्रारम्भिक अनुमान निकाल्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो, “दुई तीन दिनभित्र इष्टमेट प्राप्त हुन्छ ।”
तर यही पुललाई लिएर प्रदेश सरकार र स्थानीय सरकार पनि जस लिने होडबाजीमा लागेका छन् । आइतबार दमौलीमा गण्डकी प्रदेश सांसद सहितको बैठकले छाब्दीखोलामा पुल निर्माणमा ढिलाई हुन गएमा उक्त संरचनाको निर्माण कार्य अगाडी बढाउन व्यास नगरपालिकाई जिम्मेवारी दिने निर्णय गरेको छ । यद्यपि बेलिब्रिज निर्माणका लागि आवश्यक पर्ने बजेट व्यवस्थापन गर्न गण्डकी प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय पनि भएको छ । प्रदेश सरकारबाट बेलिब्रिज संरचना निर्माणमा ढिलाई हुने भए त्यसको जिम्मेवारी व्यास नगरपालिकाले लिने निर्णय भएको छ ।
उक्त बैठकले छाब्दी खोलामा तत्काल आवागमन सञ्चालन गर्न आवश्यक पर्ने अस्थायी संरचना निर्माणका लागि बजेट तथा प्राविधिक जनशक्ति व्यास नगरपालिकाले उपलब्ध गराउने निर्णय गरेको छ । जनश्रमदानका लागि भने कालीभञ्जन गण (इ) चापाघाटलाई अनुरोध गर्ने निर्णय गरिएको छ । उक्त बैठकले छाब्दीखोलामा तत्काल आकस्मिक रूपमा सेवा सञ्चालन गर्नुपर्ने भएकाले तुरतुरेमा रहेको बेलिब्रीज असार मसान्तसम्म उपलब्ध गराउन पुल आयोजना पाल्पालाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।