गत वर्ष भत्किएका घर पुनर्निर्माणका लागि रकम प्राप्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गत वर्ष भत्किएका घर पुनर्निर्माणका लागि रकम प्राप्त

    खबरपुञ्ज संवाददाता

    २० असार २०७८, सोमबार

    तनहुँ : गत वर्षको बाढीपहिरोले भत्किएका घर पुनर्निर्माणका लागि सरकारले तनहुँका लागि रकम निकासा गरेको छ । गत वर्षको असारमा आएको बाढीपहिरोले भत्किएका घर पुनर्निर्माणका लागि सरकारले तनहुँका लागि रकम पठाएको हो ।

    दुई सय ४७ घर निर्माणका लागि राष्ट्रिय विपद्, जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत् रु एक करोड ५१ लाख आठ हजार सात ५० जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार पछि लाभग्राही कायम गर्दा रकम बढी भएमा फिर्ता गर्ने शर्तमा दुई सय ४७ घरको पुनर्निर्माणका लागि लाग्ने रकम निकासा गर्न माग गरिएको थियो । बाढीपहिरोले व्यास नगरपालिकामा ७७, भानु नगरपालिकामा ३२, शुक्लागण्डकी नगरपालिकामा २१, भिमाद नगरपालिकामा २९, आँबुखैरेनी गाउँपालिकामा ६, बन्दिपुर गाउँपालिकामा १३, ऋषिङ गाउँपालिकामा दुई, घिरिङ गाउँपालिकामा आठ, देवघाट गाउँपालिकामा १८ र म्याग्दे गाउँपालिकामा ४१ घर पूर्ण क्षति भएको थियो ।

    उक्त घरपरिवारको सर्वेक्षण गरी लाभग्राही एकिन गर्न स्थानीय तहमा कार्यरत प्राविधिकलाई तालिम प्रदान गरी स्थानीय तहहरुबाट खटाइएको छ । तर पनि सर्वेक्षण गरी विवरण प्राप्त नभएको बरालले बताउनुभयो । “चालु आर्थिक वर्ष अन्त्य हुन लागिरहेको अवस्थामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश सरकार र स्थानीय तहबाट बेहोर्नुपर्ने अनुदानको रकम माग गरी जिल्ला विपद् कोषमा जम्मा गर्नुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो ।

    सहायक प्रमुख जिल्ला अधिकारी बरालले लाभग्राही पहिचान गरी स्थानीय तहले नपठाएपछि स्थानीय तहलाई रकम निकासा गर्न ढिलाई भएको जानकारी दिनुभयो । “केन्द्रबाट पैसा आयो तर स्थानीय तहबाट विवरण प्राप्त भएको छैन,” उहाँले भन्नुभयो, “लाभग्राही पहिचान गरेर स्थानीय तहले पठाएपछि स्थानीय विपद् व्यवस्थापन समितिको खातामा रकम पठाउँछौ ।”

    म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले गाउँपालिकाबाट लाभग्राही पहिचान गरी ४१ घरधुरीको विवरण पठाइएको जानकारी दिनुभयो । उहाँका अनुसार घर पुनर्निर्माणका लागि स्थानीय तहबाट रु १६ लाख ४० हजार लागत साझेदारी गर्नुपर्नेछ ।

    व्यास नगरपालिकाले बाढीपहिरोले भत्किएका घर पुनर्निर्माणका लागि जिल्ला विपद् कोषमा साझेदारी बापतको रु १५ लाख ५० हजार रकम जम्मा गर्ने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताउनुभयो । लाभग्राहीले पाउने रकमको १५ प्रतिशत सम्बन्धित तहले बेहोर्नुपर्ने कार्यविधि अनुसार नगरपालिकाले तीन किस्तामा गरेर रकम जम्मा गर्ने भएको छ । व्यासमा ७७ घर बाढीपहिरोले भत्किएका थिए ।

    फाइल फाेटाे