एजेन्सी : विश्वकै सबैभन्दा पुरानो मध्येको एक र दक्षिण अमेरिकी फुटबलको ठूलो प्रतियोगिता कोपा अमेरिका यति बेला ब्राजिलमा सञ्चालन भइरहेको छ ।
सन् १९१६ बाट सुरु भएको प्रतियोगिताको ४७ औँ संस्करणको सेमिफाइनल समीकरण पुरा भएका छन् । यसपटकको कोपा अमेरिकामा आयोजक ब्राजिल, अर्जेन्टिना, पेरु र कोलम्बियाले सेमिफाइनलमा स्थान बनाएका छन् ।
सेमिफाइनल मंगलबार र वुधबार हुनेछ । मंगलबार हुने पहिलो सेमिफाइनलमा ब्राजिलले पेरुको सामना गर्दा दोस्रो सेमिफाइनलमा बुधबार अर्जेन्टिना र कोलम्बिया आमने-सामने हुनेछन् ।
यस्तो छ सेमिफाइनल प्रवेश गर्ने ४ टोलीको कोपा अमेरिकामा इतिहास
ब्राजिल
आयोजक ब्राजिल यो प्रतियोगिताको साविक विजेता पनि हो । ब्राजिलले जारी प्रतियोगितामा पराजय व्यहोर्नु परेको छैन । ब्राजिलले समूह चरणमा ३ जित र १ बराबरीको नतिजा निकाल्दै १० अंकका साथ समूह ‘बी’ को विजेताका रूपमा क्वाटरफाइनलमा स्थान बनाएको थियो ।
ब्राजिलले क्वाटरफाइनलमा चिलीको चुनौतीलाई पार गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्याे ।
ब्राजिलले अहिलेसम्म ९ पटक कोपा अमेरिकाको उपाधि हात परेको छ । ब्राजिलले पहिलोपटक सन् १९१९ र पछिल्लो पटक सन् २०१९ (अघिल्लो संस्करण) को उपाधि हात पारेको थियो ।
ब्राजिल ११ पटक उपविजेता बन्दा ७ पटक तेस्रो स्थान र ३ पटक चौथो स्थानमा रहेको छ ।
ब्राजिलले घरेलु मैदानमा भएको कोपा अमेरिका उपाधि अन्यत्र जान दिएको छैन । ब्राजिलले सन् १९१९, १९२२, १९४९, १९८९ र २०१९ मा प्रतियोगिता आयोजना गर्दा उपाधि घरमै राखेको थियो ।
अर्जेन्टिना
अर्जेन्टिना पनि जारी कोपा अमेरिकामा अपराजित छ । अर्जेन्टिना समूह चरणमा ३ जित र १ बराबरीको नतिजा निकाल्दै १० अंकका साथ समूह ‘ए’ को विजेताका रूपमा क्वाटरफाइनलमा स्थान पक्का गर्याे ।
अर्जेन्टिनाले इक्वेडरलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । अर्जेन्टिनाले हालसम्म १४ पटक उपाधि हात पारेको छ ।
अर्जेन्टिना उरुग्वे (१५) पछि सर्वाधिक कोपा अमेरिका उपाधि हात पर्ने टोली पनि हो । अर्जेन्टिनाले पहिलोपटक १९२१ र अन्तिमपटक सन् १९९३ मा प्रतियोगिताको उपाधि हात पारेको थियो ।
१४ पटक उपविजेता बनेको अर्जेन्टिना ५ पटक तेस्रो र २ पटक चौथो स्थानमा रहेको थियो ।
पेरु
समूह चरणमा २ जित समान १-१ हार र बराबरीको नतिजा निलेको पेरु ७ अंकका साथ समूह ‘बी’ को उप विजेताका रूपमा क्वाटरफाइनल प्रवेश गरेको हो ।
पेरुले क्वाटरफाइनलमा पाराग्वेको चुनौतीलाई पेनाल्टी सुट आउटमा पन्छाउँदै सेमिफाइनलको यात्रा तय गर्याे।
साविक उपविजेता पेरुले हालसम्म २ पटक कोपा अमेरिकाको उपाधि उचालेको छ ।
पेरुले सन् १९३९ र १९७५ मा कोपा अमेरिकाको उपाधि हात पारेको थियो । १ पटक उप विजेता बनेको पेरु ८ पटक तेस्रो र ५ पटक चौथो स्थानमा रहेको छ ।
कोलम्बिया
कोलम्बियाले समूह चरणमा समान १-१ जित र २ हारको नतिजा निकाल्दै ४ अंकका साथ समूह ‘बी’ को तेस्रो स्थानमा रहेर क्वाटरफाइनलमा स्थान पक्का गरेको हो
कोलम्बियाले क्वाटरफाइनलमा उपाधि दाबेदार मानिएको उरुग्वेलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो ।
कोलम्बियाले अहिलेसम्म १ पटक मात्र कोपा अमेरिकाको उपाधि उचालेको छ । कोलम्बिया सन् २००१ मा विजेता बनेको थियो । काेलम्बिया १ पटक उपविजेता बन्दा ४ पटक तेस्रो र २ पटक चौथो स्थानमा रहेको छ ।