म्याग्दे : चिल्ड्रेन नेपाल पोखराले तनहुँको म्याग्दे गाउँपालिकामा स्वास्थ्य सामग्री प्रदान गरेको छ । ग्रामीण क्षेत्रमा कोरोनाको महामारी कायमै रहेकाले आम नागरिकलाई सचेत रहन भन्दै सोमबार स्वास्थ्य सामग्री वितरण गरिएको हो ।
चिल्ड्रेन नेपालले म्याग्दे गाउँपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर, दुई थान इन्फ्रारेडर थर्ममिटर, दुई थान पल्स अक्सिमिटर प्रदान गरेको चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक एवं संस्थापक अध्यक्ष रामचन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार चिल्ड्रेन नेपालले वडा नम्बर २ का ३ वटा समूह मार्फत ६४ घर परिवारलाई प्रति घरपरिवार एक÷एक थान स्यानीटाइजर, धोएर पुनः प्रयोग गर्न मिल्ने मास्क, साबुन डिजिटल थर्ममिटर समेत प्रदान गरेको छ । साथै समूहका लागि पिपिई सेट ३ थान, पञ्जा ३ प्याकेट, सर्जिकल मास्क ३ प्याकेट प्रदान गरिएको छ ।
चिल्ड्रेन नेपालका सचिव जयन्द्र भट्टराईको सभापतित्वमा भएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले कोरोना नियन्त्रणमा सबैको सामूहिक प्रयास आवश्यक रहेकामा जोड दिनुभयो ।
कार्यक्रममा चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक एवं संस्थापक अध्यक्ष पौडेल, गाउँपालिका शिक्षा शाखा प्रमुख बुद्धिसागर खनाल, स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरे, उद्योग शाखा प्रमुख प्रदिप न्यौपाने, चिल्ड्रेन नेपालका शिव शर्मा चापागाईं, श्रीराम घिमिरे लगायतको सहभागिता थियो । चिल्ड्रेन नेपालले कोरोनाको महामारीका बीच देशका विभिन्न स्थानमा स्वास्थ्य सामग्री वितरण गर्दै आइरहेको छ ।