घटना दर्ता शिविरले सर्वसाधारणलाई सहज
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    घटना दर्ता शिविरले सर्वसाधारणलाई सहज

    खबरपुञ्ज संवाददाता

    २१ असार २०७८, मंगलवार

    आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका–६ ज्यामिरे निवासी तिर्सरा गुरुङको छोरी जन्मिएको एक महिना पुग्यो । उहाँले घर नजिकै सञ्चालित दर्ता शिविरबाट छोरीको जन्मदर्ता गराउनुभयो । ३५ दिनभित्र वडा कार्यालयमा पुगेर निःशुल्क घटना दर्ता गराउन सकिन्छ ।

    छोरीको जन्मदर्ताका लागि गुरुङलाई वडा कार्यालयसम्म पुग्न परेन । गाउँपालिकाले वडाका विभिन्न ठाउँमा सञ्चालन गरेको दर्ता शिविरले गुरुङलाई सहज भयो ।

    गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने नागरिकहरुको व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ता लिने विवरण दर्ता तथा गुनासो दर्ता सुनुवाई गर्ने उद्देश्यले गाउँपालिकाले प्रत्येक वडाका विभिन्न ठाउँमा आइतबारदेखि शिविर सञ्चालन गरेको छ । घटना दर्ताका लागि वडा कार्यालयसम्म पुग्नुपर्ने स्थानीयवासीलाई शिविरले राहत मिलेको छ ।

    No description available.

    गाउँपालिकाका ६ वटै वडामा एकैसाथ शिविर शुरु भएको छ । आइतबार र सोमबार आँबुखैरेनी वडा नं १ को समस्तीपुर, वडा नं २ को सहकारी टोल, वडा नं ३ को ज्यामस्वारा, वडा नं ४ को बेनीटार, वडा नं ५ लाब्दी र वडा नं ६ को हिलेखर्कमा शिविर सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

    गाउँपालिकाका सूचना प्रविधि अधिकृत निरोज श्रेष्ठका अनुसार शिविरको पहिलो दिन आइतबार १७ व्यक्तिगत घटना र ९ गुनासो दर्ता भएको थियो । त्यस्तै दोस्रो दिन सोमबार ३८ घटना दर्ता र ६ गुनासो भएका छन् । वडा नम्बर १ मा पाँच, वडा नम्बर २ मा पाँच, वडा नम्बर ३ मा दुई, वडा नम्बर ४ मा छ, वडा नम्बर ५ मा एक र वडा नम्बर ६ मा १९ घटना दर्ता भएको श्रेष्ठले जानकारी दिनुभयो ।

    दर्ता शिविरमा सहभागी भई विवरण बुझाई घरदैलो सेवाको लाभ लिन गाउँपालिकाले आग्रह गरेको छ । शिविरका क्रममा पायक पर्ने स्थानमा गई व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद तथा बसाइसराई) को विवरण लिने तथा सामाजिक सुरक्षा भत्ता लिन योग्य भई छुटेका लाभग्राहीको विवरण सङ्कलन गरिन्छ ।

    व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र बालबालिकालाई विद्यालयमा भर्ना गर्न, नागरिकता बनाउन, नाबालक राष्ट्रिय परिचयपत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न साथै राज्यबाट पाउने सेवा, सुविधा र हक स्थापना गर्न आवश्यक पर्छ ।

    आँबुखैरेनी–१ को समस्तीपुर, याञ्चोक, भुजेलगाउँ, वडा नं २ को सहकारी टोल, तिलबारी, एक्लेफाँट, वडा नं ३ को ज्यामस्वारा, पानीघट्टा, रामशाह टोल, वडा नं ४ को बेनीटार, भाँगे, पाँचकिलो, वडा नं ५ को लाब्दी, सानोभञ्ज्याङ, भालुढुङ्गा र वडा नं ६ को हिलेखर्क, प्युघरफाँट र पुर्लुङमा शिविर सञ्चालन हुनेछ । शिविर २५ गतेसम्म सञ्चालन हुनेछ ।