तनहुँ : विभिन्न मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । अभद्र व्यवहार र लागुऔषध मुद्धामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका हुन् ।
जिल्लामा नयॉ प्रहरी उपरिक्षकको आगमनसँगै फरार प्रतिवादी पक्राउ पर्ने क्रम शुरु भएको छ । यसअघि दुई दिन अगाडी पनि दुई जना फरार प्रतिवादी पक्राउ परेका थिए । यद्यपि प्रहरीले यो अभियानलाई विगतमा पनि निरन्तरता दिएको थियो ।
अभद्र व्यवहार मुद्धामा तनहुँ जिल्ला अदालतबाट सजाय तोकिएका शुक्लागण्डकी-४ दुलेगौडा बस्ने २५ वर्षीय निनो श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयो ।
अदालतले निजलाई २०७७ चैत २६ गते र २०७६ पुस २१ गते अभद्र व्यवहार र विविध मुद्धामा २ महिना १३ दिन कैद र रु १८ हजार जरीवानाको फैसला सुनाएको थियो । उनी गत पुस २१ गतेदेखि फरार थिए ।
यसैगरी लागुऔषध मुद्धामा कैद तोकिएका शुक्लागण्डकी-८ ढोरफिर्दी बस्ने ३४ वर्षीय तिलक भन्ने तिलबहादुर विक पक्राउ परेका छन् । निजलाई अदालतले विस २०७५ चैत २५ गते ३ दिन कैद र रु दुई हजार जरीवानाको फैसला सुनाएको थियो ।
पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि आज अदालत दाखिल गरिएको प्रहरी नायब उपरिक्षक तिमिल्सनाले जानकारी दिनुभयो ।