विश्वासको मत पाएपछि एउटा दललाई धोका दिए, बजेट पास भएपछि अर्कोलाई पनि दिनेछन्: पूर्वमुख्यमन्त्री गुरूङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    विश्वासको मत पाएपछि एउटा दललाई धोका दिए, बजेट पास भएपछि अर्कोलाई पनि दिनेछन्: पूर्वमुख्यमन्त्री गुरूङ

    खबरपुञ्ज संवाददाता

    २५ असार २०७८, शनिबार

    पोखरा : नेपाली कांग्रेस नेतृत्वको गण्डकी सरकार भ्रष्टाचारको अभियानबाट सुरू भएको पूर्वमुख्यमन्त्री एवं एमाले नेता पृथ्वीसुब्बा गुरूङले आरोप लगाउनुभएको छ ।

    सरकारले कार्यकर्ता पोस्न १६ करोड रूपैयाँ गैरबजेटरी विनियोजन गरेर १० दिनमा सक्न खोजेको भन्दै उहॉले नीतिगत भ्रष्टाचारको सुरूआत भएको टिप्पणी गर्नुभयो ।

    गण्डकी सरकारले रातो किताबमा उल्लेख नरहेका डेढ सय योजनामा असार दोस्रो साता बजेट विनियोजन गरेको थियो। ‘योजनामा बजेट विनियोजन गरेर मात्र हुँदैन, टेण्डर गर्नुपर्यो, नभए उपभोक्ता समिति गठन गर्नुपर्ने होला’, गुरूङले भन्नुभयो, ‘१० दिनमा यो सम्भव हुँदैन, जिल्लाका सभापति बोलाएर जथाभावी विनियोजन गरेका हुन्।’ 

    सरकारले भ्रष्टाचारको सुरूवात गरेको भन्दै त्यसलाई ढाकछोप गर्न झ्याली पिटेको गुरूङले आरोप लगाउनुभयो । गण्डकी सरकारले यसअघि पञ्चबर्षीय योजना, मध्यकालीन योजना र दिगो विकासका लक्ष्यलाई ध्यान दिएर विकासका अभियान अघि बढाएको भन्दै त्यसलाई तलमाथि गर्न नदिने उहॉले बताउनुभयो ।

    नेकपा एमाले गण्डकी संसदीय दलको कार्यालयमा पत्रकार भेटघाटमा बोल्दै नेता गुरूङले सरकारमा जोसुकै आए पनि अघिल्लो सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।