आँबुखैरेनी ४ को वडा भवन उद्घाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनी ४ को वडा भवन उद्घाटन

    खबरपुञ्ज संवाददाता

    ३१ असार २०७८, बिहीबार

    आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ को कार्यालय भवन निर्माण सम्पन्न भएको छ । प्रत्येक वडा कार्यालयको आफ्नै भवन बनाउने उद्देश्य बमोजिम वडा नम्बर ४ को भवन निर्माण सम्पन्न भएको हो ।

    विसं २०७७ जेठ ४ गते सम्झौता भएको भवन विसं २०७८ असार २० गते सम्पन्न भएको थियो । आँबुखैरेनीस्थित भिजन निर्माण सेवाले भवन निर्माण गरेको हो । मूल्य अभिवृद्धि कर सहित रु ५२ लाख ४१ हजार चार सय ७८ मा सम्झौता भएकामा रु ४९ लाख ७९ हजार चार सय ४७ भुक्तानी भएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो । भवनले १४१६.२५ वर्गफिट क्षेत्रफल ओगटेको छ ।

    No description available.
    No description available.

    भवनको बिहीबार उद्घाटन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले शेरबहादुर देउवा नेतृत्वको सरकारले विश्वासको मत पाउने विश्वास व्यक्त गर्नुभयो । नेपाली काङ्ग्रेसका सभापति देउवाको नेतृत्वमा गठित सरकारले प्रतिनिधिसभाबाट विश्वासको मत पाउने र बाँकी कार्यकाल देउवाको नेतृत्वमा सरकार चल्ने बताउनुभयो ।

    पूर्वमन्त्री भण्डारीले जनता र देश ठूलो हो भन्ने सोचका साथ सरकार सञ्चालन गरिने बताउनुभयो । “नेकपा एमालेको आन्तरिक झगडाका कारण शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको हो, देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्छौ,” भण्डारीले भन्नुभयो । काङ्ग्रेस विगतमा गरेका कमजोरी सुधार्दै अगाडी बढ्ने भण्डारीको भनाई थियो । गत निर्वाचनमा सङ्घ र प्रदेशमा काङ्ग्रेस पराजित हुँदा तनहुँमा विकास निर्माणको काम प्रभावित भएको भण्डारीले आरोप लगाउनुभयो ।

    वडाध्यक्ष नेत्र गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ लगायतले भवन निर्माण भएपछि सहज रुपमा सेवाप्रवाह गर्न सहज हुने बताउनुभयो ।