बाख्रा पाल्नेलाई एक लाखसम्म अनुदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कृषि

    बाख्रा पाल्नेलाई एक लाखसम्म अनुदान

    खबरपुञ्ज संवाददाता

    १३ श्रावण २०७८, बुधबार


    दुलेगौडा : शुक्लागण्डकी नगरपालिका–१२ ढोर लाकुरीबोटका आशमान गुरुङले ११ बर्षसम्म आफ्नो उर्जाशिल जोश, जाँगर र पसिना विदेशी भूमिमा खनाए । मलेसियाबाट छुट्टीमा घर आएका उनलाई गत वर्षको लकडाउनले फेरि हाजिर हुन जान दिएन । त्यसपछि उनले नेपालमै अवसरको खोजी गर्न थाले । सम्भावना देखे उन्नत जातको बाख्रा पालनमा ।

    दृढ संकल्पका साथ गाउँमै बोयर बाख्रा पाल्न थाले आशमानले । सुधारिएको खोर बनाई शुरु गरेको बाख्रा पालनमा २० लाख रुपैयाँ लगानी भएको छ । ४० बढी बाख्रा छन् ।

    बाख्रा पालनमा ३६ वर्षीय आशमानको झुकाव र मेहनत देखेर वडा कार्यालयले एक लाख रुपैयाँ अनुदान दिएको छ । गत आर्थिक वर्षको बजेटबाट हालै दिईएको यो रकमले बाख्रा पालनमा निरन्तर लाग्न प्रेरित गरेको उनी बताउँछन् । ‘अनुदानले व्यवसाय विस्तारमा हौसला थपेको छ’, उनले अगाडी थप्दै भने, ‘अनुदानसँगै उत्पादनको बजारीकरण र मुल्यको ग्यारेन्टी भईदिए अझै सहज हुन्थ्यो ।’ यसरी राज्यले किसानलाई सघाउँदा बेरोजगार युवाले सम्भावनाको खोजी गर्न थाल्ने उनको भनाई छ ।

    एक दशक वैदेशिक रोजगारीमा बिताएर फर्किएका युवा जीवन हमाल चार वर्ष के गर्ने कसो गर्ने अलमलमै थिए । बसाई झरेका उनी बाँझिएको बारीलाई उपयोग गर्दै बाख्रा पाल्ने सोचमा बावियोडाँडा उक्लिए । ६ महिना भयो बाख्रा पाल्न शुरु गरेको उनले । गोठभरी बाख्रा भईसकेका छन् । बाख्रा पाल्न कस्सिएका हमाललाई वडाले पनि सघाएको छ । उनलाई वडाले ५० हजार रुपैयाँ अनुदान दियो ।

    ‘यो रकमले लगानीमै टेवा पुर्याउने त होइन । तर, हौसला पक्कै मिल्छ’, उनले भने । अनुदानसँगै प्राविधिक ज्ञान, नश्ल सुधार, घाँसको विरुवा, बजार व्यवस्थापनमा तीनै तहका सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

    आर्थिक वर्ष २०७७/७८ मा शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेका १७ जना बाख्रा पालक किसानले ६ लाख रुपैयाँ वडाको अनुदान लिएका छन् । ढोर लाकुरीबोट, लाकुरीबोट, भोर्ले, बाँवियोडाँडा, वराहडाँडा, जस्पुरका किसानलाई अनुदान दिईएको हो ।

    एक लाख र ५० हजार रुपैयाँ १/१ जनाले प्राप्त गरेका छन् । १५ जना किसानलाई ३० हजार रुपैयाँका दरले वितरण गरेको वडा कार्यालयले जानकारी दिएको छ । सबैको बैंक खातामा वडाले अनुदानको रकम हाल्दिएको हो ।

    बाख्रा पालनलाई व्यावसायिक बनाएर किसानलाई आत्मनिर्भर बनाउन अनुदान उपलब्ध गराएको वडाध्यक्ष मनराज गुरुङले बताए । वडामा भौतिक पूर्वाधार र उत्पादनलाई समान दृष्टिले अगाडी बढाएको वडाध्यक्ष गुरुङको भनाई छ । ‘भौतिक पूर्वाधारले मात्रै समृद्धिको सपना पूरा हुँदैन । समृद्ध बन्न उत्पादन बढाउन आवश्यक छ । वडाको भूगोल, हावापानीले बाख्रापालन उपयुक्त भएकाले किसानलाई बाख्रा पालनमा लाग्न प्रोत्साहन गरिरहेका छौँ ।’

    उनले अनुदान उत्पादनमुखी भए नभएको अनुगमन समेत गर्ने गरेको बताए । अनुदान वितरणका लागि मापदण्ड बनाएको उनको भनाई छ । खोरको अवस्था, बाख्राको संख्या, घाँसको व्यवस्थापनलाई आधार मानेर अनुदान बाँडेको वडाध्यक्ष गुरुङले दावी गगरे । ‘अनुदान प्राप्त गरेपछि कम्तीमा पनि पाँच वर्ष बाख्रा पालनमा लाग्नुपर्ने सम्झौता हुन्छ’, उनले भने । फिरफिरेका बाख्रा पालक किसानले जनप्रतिनिधि निर्वाचित भएर आएपछि हरेक वर्ष अनुदान थाप्दै आएका छन् ।