


काठमाडौं, २ असोज । काठमाडौं महानगरपालिकाले जेनजी युवाको प्रदर्शनको क्रममा सिंहदरबार र सर्वोच्च अदालत जस्ता संरचना जल्दा पनि दमकल नपठाएको भन्ने आरोपको खण्डन गरेको छ ।
काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आज बिहान पत्रकार सम्मेलन गरी सुरक्षाका कारण सबै ठाउँमा दमकल पुग्न नसकेको बताए । तर महानगरपालिकाको प्रयासमा विभिन्न ठाउँमा दमकलमा पानी भर्न सयौं ट्यांकर समेत पठाइएको उनले जिकीर गरे ।
‘हामीले अनुरोध गरेर, सयौं पानी ट्यांकरहरु सहयोगको रुपमा लिएर आएर, तत् ठाउँमा दमकलसँग पानी सकिएको अवस्थामा त्यहीँ पानी फिलिङ पनि गरेका थियौं,’ पाण्डेले भने, ‘त्यसमा हामी चुकेका छैनौं । महानगरले दमकल पठाएन भन्ने गलत कुरा हो ।’