


लमजुङ, २ असोज । जेनजी आन्दोलन चर्किएको बेला विभिन्न जिल्लाबाट भदौ २४ गते फरार ३९ जना कैदी र थुनुवालाई लमजुङ प्रहरीले नियन्त्रणमा लिएर बुझाएको छ ।
कास्की, तनहुँ, चितवन, काठमाडौंबाट भागेर आएका कैदी र थुनुवा लमजुङ प्रहरीको फन्दामा परेका हुन् ।
कास्की कारागारका २४ जना, तनहुँ कारागारका १३ जना, काठमाडौं र चितवनका १–१ जना कैदी र थुनुवालाई पक्राउ गरी सम्बन्धित ठाउँमा पठाएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी रेशम बोहराले बताए ।
उनका अनुसार भदौ २६ र २७ गते ११ जना, २८ गते १८ जना, २९ गते ६ जना र ३० गते ४ जनालाई नियन्त्रणमा लिइएको हो । ‘हामीले विभिन्न सूचनाको आधारमा उनीहरुकै गाउँघर तथा सहरबजारबाट नियन्त्रणमा लिएर उनीहरु बस्दै आएको कारागारमा पठाएका छौं,’ उनले भने । उनका अनुसार नियन्त्रणमा लिएकाहरु प्रायः लमजुङ घर भएका हुन् ।
लमजुङ जिल्ला कारागार २ महिनाअघि वर्षाका कारण भत्किएपछि कारागारका कैदी र थुनुवालाई कास्की र तनहुँ कारागार पठाइएको थियो । जेनजी आन्दोलन चर्किंदै गएपछि कास्की र तनहुँ कारागारबाट भागेका कैदी र थुनुवा घर आएको समयमा प्रहरीले नियन्त्रमा लिएको प्रहरीले जनाएको छ ।