ऋषिङ : पहिरामा पुरिएर ज्यान गुमाएका तनहुँको ऋषिङ गाउँपालिका–८ माझकोटका खुमबहादुर आलेको परिवारलाई आर्थिक सहयोग गरिएको छ । विभिन्न दाताबाट सङ्कलित २५ हजार पीडितका परिवारलाई सोमबार हस्तान्तरण गरिएको हो ।
घिरिङ गाउँपालिका–५ धेनुङ घर भई हाल बेलायतमा रहेका देवी र फूलबहादुर आलेबाट १५ हजार, ऋषिङ गाउँपालिका–८ बडागाउँ घर हाल बेलायतमा रहेका बलराम र किरण आलेबाट पाँच हजार र ऋषिङ गाउँपालिका–६ गोठादी घर भई हाल दमौली बस्ने दिलकुमारी र सुभाष थापाबाट पाँच हजार गरी २५ हजार सहयोग गरिएको नेपाल रेडक्रस सोसाइटी कोटदरवार उपशाखा सभापति इन्द्र आलेले जानकारी दिए ।
उक्त रकम जिल्ला समन्वय समितिका सदस्य निलबहादुर थापाले मृतकका बाबु लालबहादुरलाई हस्तान्तरण गरेका थिए । खुमबहादुरको गत असार २४ गते पहिरामा पुरिएर मृत्यु भएको थियो ।