एमाले फुटको प्रभाव कस्तो पर्ला तनहुँमा ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले फुटको प्रभाव कस्तो पर्ला तनहुँमा ?

    खबरपुञ्ज संवाददाता

    ५ भाद्र २०७८, आईतवार

    दुलेगाैडा : एमाले विभाजन भएसँगै तनहुँमा नेता तथा कार्यकर्ता दुईतिर बाँडिएका छन् । संस्थापन एमाले र प्रस्तावित नेकपा एकीकृत समाजवादीमा नेता तथा कार्यकर्ता बाँडिएका हुन् । 
    कोही खुलिसके छन् भने कोही पर्ख र हेरको अवस्थामा छन् । 

    तर, अहिलेसम्मको अवस्था हेर्दा तनहुँमा प्रस्तावित एकीकृत समाजवादीको तुलनामा संस्थापन एमाले नै बलियो देखिन्छ । माओवादी केन्द्रसँगको एकता भंग हुँदा एमालेको ८५ सदस्यीय जिल्ला कमिटी थियो । जिल्ला कमिटीको कार्यकारी पदमा रहेका जिल्ला कमिटी अध्यक्ष तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित केदार सिग्देल, उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ, सचिव भगवती न्यौपाने र उपसचिव विष्णुभक्त सिग्देल हुन् । उनीहरु चारैजना संस्थापन एमालेमा छन् । 

    संसद विघटनपछि माधव नेपाल समूहमा गएका विष्णुभक्त फेरि ओली समूहमै फर्किएका छन् । अहिले एकीकृत समाजवादी दर्ता प्रक्रियामा जाँदा उनी खुलिसकेको अवस्था छैन ।

    जिल्ला कमिटीमा रहेका ३५ जना आफ्नो पक्षमा रहेको एकीकृत समाजवादीका केन्द्रिय सदस्य एवम तनहुँ इञ्चार्ज प्रतापलाल श्रेष्ठले दाबी गरे । तर, करिब २२ जना जिल्ला कमिटी सदस्य मात्र समाजवादीको पक्षमा खुलेका छन् । ‘धेरै साथीहरु पहिला पार्टी एक हुन्छ भनेर खुल्नुभएको थिएन । अहिले एकीकृत समाजवादी छुट्टै पार्टी हुने भएपछि विस्तारै खुल्दै हुनुहुन्छ’, श्रेष्ठले भने । 

    तनहुँका सातजना एमाले प्रदेश कमिटी सदस्य थिए । तीमध्ये शंकरनारायण श्रेष्ठ, रेखा थापा बस्याल र चित्र थापा समाजवादीमा गएका छन् । रेखा समाजवादीले निर्वाचन आयोगमा बुझाएको ९५ सदस्यीय केन्द्रिय कमिटीमा अटाएकी छन् । प्रदेश कमिटीमा रहेका जिल्ला अध्यक्षसमेत रहेका केदार सिग्देल, दुर्गा पराजुली, नारायण खनाल र राधा महत भने संस्थापन एमालेमै छन् । 

    तनहुँबाट प्रतापलाल श्रेष्ठ र एकबहादुर राना एमालेको केन्द्रीय सदस्य थिए । प्रतापलाल समाजवादीमा गए । उनी पनि ९५ केन्द्रीय सदस्यको सूचीमा परेका छन् ।

    प्रतिनिधिसभामा एमालेबाट तनहुँका तीनजना थिए । तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित कृष्णकुमार श्रेष्ठ (किसान) र २ बाट केदार सिग्देल निर्वाचित भएका हुन् । समानुपातिक कोटाबाट कलिला खान पनि प्रतिनिधिसभा सदस्य बनेकी हुन् । किसान र कलिला समाजवादीमा लागेका छन् । यद्यपि, यी दुवैजनाको नाम केन्द्रीय सदस्यको सूचीमा भने अटाएन । 

    श्रेष्ठ ओलीको विश्वासपात्र मानिन्थे । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि भने उनी नेपाल समूहमा लागेको खुलासा भएको थियो । खातुन एमालेले कारबाही गरेका १४ जना मध्यमा परिन् । देउवालाई मत दिएका श्रेष्ठ भने कारबाहीको सूचीमा परेनन् । 

    राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संस्थापन एमालेमै छिन् । गण्डकी प्रदेशसभामा एमालेबाट निर्वाचित रामबहादुर गुरुङ र किरण गुरुङ पनि संस्थापन एमालेमै छन् । प्रदेशमा एकीकृत समाजवादी शून्य देखिन्छ । जिल्लाका १० स्थानीय तहमा एमालेका प्रमुख र उपप्रमुखमा ३–३ जनाले जितेका छन् । उनीहरु सबै संस्थापन एमालेमै छन् ।

    माधव पक्षमा खुलेकी घिरिङ गाउँपालिका उपाध्यक्ष सरस्वती घिमिरे सिग्देल पनि यतिबेला माैन छिन् ।  वडा तहका केही जनप्रतिनिधि एकीकृत समाजवादीमा लागेका छन् । वडा तहमा शुक्लागण्डकी नगरपालिकामा नेकपा एकीकृत समाजवादी बलियो छ ।

    सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।