तनहुँमा महिलालाई नेतृत्व दिन कन्जुस्याँई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा महिलालाई नेतृत्व दिन कन्जुस्याँई

    खबरपुञ्ज संवाददाता

    २४ भाद्र २०७८, बिहीबार

    दुलेगाैडा : शुक्रबार नेकपा माओवादी केन्द्र तनहुँले जिल्लाको दश स्थानीय तहमा नेतृत्वको नाम टुंगो लगायो । नेकपा एमालेसँगको एकता प्रकृया भंग भएपछि संगठन पुर्नगठन गर्दै आएको पार्टीले स्थानीय तहको अध्यक्ष र सचिवको नाम टुंगो लगाउने बेला महिलालाई जिम्मेवारी दिन कन्जुस्याँई गरेको देखिन्छ । बन्दिपुर गाउँ कमिटीको अध्यक्षमा विद्या क्षेत्री बाहेक अन्य महिलालाई पार्टीले नेतृत्व हाँक्ने अवसर दिन सकेन ।

    नेकपा एमालेबाट अलग भएर बनेको पार्टी नेकपा एकीकृत समाजवादीले शुक्रबार १ सय ४७ सदस्यीय जिल्ला कमिटी घोषणा ग¥यो । कार्यकारी पदमा मनुमाया श्रेष्ठलाई उपसचिवको जिम्मेवारी तोकियो । २७ जना महिला मात्र जिल्ला कमिटीमा अटेका छन् ।

    शुक्रबार र शनिबार कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत तनहुँका ८४ वडामा अधिवेशन सम्पन्न भएको छ । जसमध्ये ४ वडामा मात्र महिला सभापति निर्वाचित बनेका छन् । वडा सभापति बनेका महिला हुन्, व्यास नगरपालिका–१४ की नरीमाया राना, बन्दिपुर गाउँपालिका–४ मा सीता थापा, बन्दिपुरमा–५ मा रीता तिवारी र ऋषिङ गाउँपालिका–१ मा सविना राना । ८० वडामा पुरुषले कब्जा जमाउँदा चार जना महिलाको संख्या झिनो हो । अनिवार्य व्यवस्था गरिएको बाहेका अन्य पदमा पनि महिला सहभागिता कम छ ।

    दुई दिनको तीन राजनीतिक घटनाक्रमले महिलालाई नेतृत्व तहमा पुग्न अझैपनि सहज नरहेको पुष्टि गर्छ । संविधानले हरेक क्षेत्रमा महिला सहभागिता ३३ प्रतिशत निश्चित गरेको त छ । तर, कार्यान्वयन कहीँकतै हुँदैन । केन्द्र र प्रदेश सरकारको मन्त्रीमण्डल विस्तारमा समेत विभेदमा पर्ने महिलालाई पार्टीको जिल्ला र वडा तहको राजनीतिक नेतृत्व सुम्पन कन्जुस्याँई गर्नु नौलो भने होइन ।

    महिलालाई हरेक क्षेत्रमा रोलक्रममा मात्रै सीमित राखिने नेपाली कांग्रेस ऋषिङ गाउँपालिका–१ मा नवनिर्वाचित वडा सभापति सविना राना बताउँछिन् । “महिला नेतृत्व हाँक्न सक्षम भएपनि दिइँदैन । सधैँ रोलक्रम पु¥याइन्छ,” उनले भनिन् । महिला भएकै कारण नेतृत्व गर्न नदिइने अनुभव बटुलेकी उनले महिलाले सफल नेतृत्व गर्न सक्छ भनेर पुष्टि गर्नेगरी काम गर्ने अठोट लिएकी छन् ।

    सामन्ती पितृ सतात्मक सोचको अन्त्य नभएसम्म महिला नेतृत्व तहमा आउन सकस भईरहने गण्डकी प्रदेशसभा सदस्य आशा कोइराला बताउँछन् । घरको काम छोडेर नेतृत्व गर भन्नलाई कन्जुस्याँई भईरहेको उनको दाबी छ । पार्टीका नेताले पनि महिलालाई नेतृत्व दिन नचाहने कोइराला बताउँछिन् । उनी भन्छिन्, “महिला घर परिवारको कामले भ्याउँदैनन्, क्षमता पुग्दैन भनेर मात्र हँुदैन् । सचेत प्रयत्नद्वारा नेतृत्वमा महिलालाई ल्याउन जरुरी छ । परिवार र समाजले पनि त्यही खालको वातावरण बनाईदिनुपर्छ ।”

    एकाध बाहेक महिला पनि पुरुषसँग प्रतिष्पर्धामा होमिएर नेतृत्व लिन डराउने उनले उल्लेख गरिन् । “क्षमता दक्षताले नपुग्न सक्छ । नेतृत्व लिन पछाडी पर्ने होइन । काम गर्दै सिक्दै जाने हो,” उनले भनिन् । नेकपा माओवादी केन्द्रकी नेतृ कोइरालाका अनुसार माओवादी जनयुद्धको बेला ४० प्रतिशतसम्म महिला नेतृत्व तहमा थिए । शान्ति प्रकृयापछि भने घट्दै गए । बाल बच्चाको स्याहारसुसार, परिवारको जिम्मेवारी, आर्थिक उपार्जन लगायत कारण पनि महिला पछाडी हट्नुपरेको उनको बुझाई छ ।

    गत स्थानीय तहको निर्वाचनमा जिल्लाको दश स्थानीय तहमा म्याग्दे गाउँपालिकाले मात्र मायादेवी रानालाई अध्यक्ष पायो । ८५ वडामा ऋषिङ गाउँपालिका–८ मा भविसरा आले वडाध्यक्ष निर्वाचित भएकी थिइन् । यी वाहेक महिलाले प्रमुख पद पाएनन् । संविधानले अनिवार्य व्यवस्था गरेको कोटामा मात्रै सीमित बनेका छन् महिला ।