गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षीको निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षीको निर्णय

    खबरपुञ्ज संवाददाता

    ५ जेष्ठ २०८१, आईतवार

    काठमाडौ । प्रमुख प्रतिपक्षीसहित सदनमा रहेका विपक्षी दलहरूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सदनमा बोल्न दिने भएका छन्।

    काठमाडौंको नयाँ बानेश्वरमा आइतबार बिहान बसेको कांग्रेससहित विपक्षी दलहरूको बैठकले गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने निर्णय गरेको बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सेतोपाटीलाई जानकारी दिए।

    ‘गृहमन्त्रीजीलाई सदनमा बोल्न दिने निर्णय भएको छ, उहाँले बोलिसकेपछि हामी संसदीय छानबिन समितिको माग गर्छौं,’ उनले भने।

    प्रतिनिधि सभा बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइए पनि बैठक सुरू भएको छैन। बैठकअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सदनमा रहेका विपक्षी दलका नेताहरूलाई छलफलका लागि बोलाएका थिए।

    छलफलमा सभापति देउवासहित कांग्रेसका पदाधिकारीहरू र प्रमुख सचेतक रमेश लेखक, राप्रपा नेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाही, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारीलगायत सहभागी थिए।