दोभान पुल निर्माणमा भएको ढिलाईप्रति सासंद सिग्देलको चासो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दोभान पुल निर्माणमा भएको ढिलाईप्रति सासंद सिग्देलको चासो

    खबरपुञ्ज संवाददाता

    २४ भाद्र २०७८, बिहीबार

    दुलेगौँडा : शुक्लागण्डकी नगरपालिका–७ दोभान र भिमाद नगरपालिका–८ भागर जोड्न सेती नदीमा निर्माणधिन मोटरेबल पुलको म्याद चार पटक सकियो । यो अवधिमा तीन वटा पिल्लर ठडिने बाहेक अरु काम भएको छैन् ।

    पुल निर्माणमा भएको ढिला सुस्तीप्रति यतिबेला चाैतर्फी आलोचना भईरहेको छ । तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद केदार सिग्देलले पनि पुल निर्माणमा भएको ढिलासुस्तीप्रति चासो देखाएका छन् । संघीय सरकारको बजेटमा निर्माणधिन पुल ६ वर्षदेखि अलपत्र परेपछि बुधबार स्थलगत अवलोकन गर्दैै सिग्देलले यो वर्षभित्र पुल सक्ने गरी काम गराउन सडक डिभिजन कार्यालय दमौलीलाई निर्देशन दिए ।

    ठेकेदारले वर्षा लायो, नदीको वहाव बढ्यो भनेर काम ढिलो गर्नलाई छुट नभएको उनको भनाई छ । ‘जेठ लागेर काम शुरु गर्यो, असारमा बाढी आयो भनेर ढिला सुस्ती हुन भएन.’ उनी बताउँछन् । सेती पारीका जनताले पनि मोटर चढ्न पाउनुपर्ने उनको भनाई छ । ‘एक वर्षमा एउटा पिल्लर नबन्ने भएपछि जनताले कहिले मोटर चढ्न पाउँछन् ? बजेटको कारण काम रोकिएको हैन । बजेट पुगेन मात्र भन्नुस करोडौँ रुपैैयाँको व्यवस्थापन गर्न पहल गर्नेछु,’ उनले भने । पुल निर्माणमा भएको ढिलाई बारे आफुले संसद र समितिमा समेत कुरा उठाईरहेको उनले सुनाए ।

    सडक डिभिजन कार्यालय तनहुँका इञ्जिनियर दिपेन्द्र पन्थले यो वर्ष काम सम्पन्न गराउने प्रतिबद्धता जनाए । ‘यो वर्ष सक्ने गरेर ठेकेदारलाई काम गर्न निर्देशन दिएका छौँ । पानीको वहाब घटेपछि ठेकेदारलाई फिल्डमा झिकाउँछौँ,’ उनले भने । पुलको डिजाईन परिर्वतनका कारणले पनि निर्माणमा केही समय ढिलाई भएको उनको दाबी छ ।

    पुलको तेस्रो पटक थपिएको म्याद ९ भदौमा सकिएको छ । २९ असार २०७५ सम्म निर्माण सक्ने शर्तमा ३० असार २०७२ मा एडभेन्चर कन्ट्रक्सन प्रालि चितवनसँग ठेक्का सम्झौता भएको थियो । हालसम्म ६५ प्रतिशत काम सकिएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । कोरोनाले प्रभावित निर्माणाधीन आयोजनालाई ६ महिना म्याद थप्ने सरकारको निर्णय अनुसार दोभानको पुलको पनि स्वत म्याद थपिएको छ ।

    पुल निर्माणमा ढिलाई हुदाँ तनहुँको भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र स्याङजाको हरिनास गाउँपालिकाका स्थानीय प्रभावित छन् । पृथ्वी राजमार्ग नजिकका बस्तीहरु बर्खामा यातायात सञ्जालबाट टाढा बन्ने गर्छ । दोभानमा सेती तर्नलाई फड्के, तुईन हुदै अहिले झोलुङ्गे पुल बनेको छ । मोटरेबल पुलबाट ओहोरदोहोर गर्न पाईदैन की भन्ने आशंका नारायण खनालको छ । उनी भन्छन्, ‘ठेकेदार आउने यसो कोट्याउने मात्र गर्छ । केटाकेटी खेले जस्तो । यो पुुल नबन्दा विकासको मुख देख्न पाईएन’, उनले भने ।

    छिटो भन्दा छिटो पुल निर्माण हुनुपर्ने उनको माग छ । पुल निर्माणमा ढिलाई हुनुमा निर्माण कम्पनीसँगै सडक विभाग अन्तर्गतको पुल महाशाखाको पनि कमजोरी देखिन्छ । सुरुमा ओपन फाउन्डेसनमा पुलको डिजाइन भएकोे थियो । दुई पिल्लरको काम सकेर नदीको बीचमा पिल्लर राख्ने बेला डिजाईन फेरियो । पायल फाउण्डेसनमा डिजाईन फेरिएको पुलको झण्डै डेढ वर्ष काम रोकिएको सडक डिभिजन दमौलीले जनाएको छ ।

    आठ करोड ८० लाख ५० हजार ८ सय ८३ रुपैयाँमा भ्याटबाहेक पुल निर्माणको ठेक्का सम्झौता भएको हो । पाँच करोड ४२ लाख ४ हजार ६ सय ८६ रुपैयाँ निर्माण कम्पनीलाई भुक्तानी गरिएको छ । यो वर्षको बजेटमा संघीय सरकारले पुल निर्माणका लागिएक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सासंद सिग्देलले बुधबार भिमादको जिदीखोलामा निर्माणधिन मोटरेबल पुलको पनि निरीक्षण गरेका छन् । यो पुलको पनि पहिलो म्याद थपिएको तीन वर्ष बितेको छ ।

    समयमै पुल निर्माण नहुदाँ वर्खायाममा यातायातका साधन र सर्वसाधारणले खोला वारपार गर्न सास्ती भोग्नु परेको छ । शान्ति निर्माण सेवा काठमाडौंले जिम्मा लिएको पुलको निर्माण पछिल्लो समय दु्रत गतिमा भएको छ । पुलको काम पछिल्लो समय सन्तोषजनक रहेको सांसद सिग्देलले बताए । ‘दशैँ अगावै उद्घाटन सक्ने गरी काम सक्नुहोला । त्यो भन्दा ढिला गर्न पाउनु हुनेछैन’, निर्माण व्यवसायीलाई सांसद सिग्देलको निर्देशन थियो ।

    सडक डिभिजन कार्यालयका अनुसार ८० प्रतिशत काम सकिएको छ । पुलको दुईतिर फिल्डिङ गर्ने, रेलिङ राख्ने, रंगरोगन र पुल आसपासमा नदी कटान रोक्न ग्याबिन जाली भर्ने काम बाँकी रहेको छ । यो पुल निर्माण भएपछि भिमाद बजारबाट मिर्मीभीम मार्ग हुदैँ जिल्लाका विभिन्न क्षेत्र र छिमेकी जिल्ला स्याङजा, पाल्पासम्म आउजाउ गर्ने सवारी साधनलाई सहज हुनेछ ।

    सिग्देलले भिमाद नगरपालिका–६ कुमारचोक बस्तीमा पहिरोले जोखिम पु¥याएको स्थानको पनि अवलोकन गरे । उनले प्रदेश सरकारले सेती नदी तटबन्धन गर्न नसके संघीय सरकारले बजेट व्यवस्थापन गर्ने आश्वासन दिए । प्रदेश सरकारले चासो नदिएकाले संघीय सरकारले नै तटबन्धनको काम गर्नुपर्ने कुमारचोकका बासिन्दाको माग थियो । यस्तै, खैरेनीटार भिमाद सडकखण्ड, वान्ट्याङ खोलामा मोटरेबल पुल निर्माण, भिमकाली मोटरमार्गको टेक्रेमा गएको पहिरो लगायत योजनाको पनि निरिक्षण गरेका छन् । उनले विकासका निम्ती आफुले सक्दो पहल गर्ने स्थानीयबासीसंग प्रतिवद्धता जनाएका छन् ।