विगत केही वर्ष पहिला पनि दमौलीको पृथ्विराजमार्ग स्थित भुपाल हार्डवेयरमा भएको आगलागी वास्तवमै डरलाग्दो थियो, हेलिकोप्टर राजनीति समेतले खुबै चर्चा पायो त्यस बखत तर केही दिनको चर्चा पछि पुर्व तयारीमा सिन्को भाँच्ने काम आज पर्यन्त नभएको आइतवार रातिको आगलागीमा प्रत्यक्षदर्शी हुनु शिवाय कुनै उपाय नलागेकाले यस गम्भीर विषयमा विगत देखिका प्रयास र लापरवाहिबारे आज पटाक्षेप गर्ने पर्ने भयो, दमौली आगलागी र सुरक्षाबारे मैले सार्वजनिक मिडिया मार्फत् यस अघि झण्डै दर्जन लेख लेखिसकेको पनि थिएँ नगरसभामा लिखित प्रस्ताव राख्दा समेत बेवास्ता भएका कारण आँफै जनप्रतिनिधि हूँदा समेत सार्वजनिक रुपमा लेख लेख्न अभिसप्त थिएँ त्यस बखत पनि ।
आइतवार राति व्यास नगरपालिकाको कार्यालय परिसर समेत रहेको फलफुल लाईनमा आगलागी हूँदा व्यास नगरपालिकाको दमकलले पानी ओसार्दा र हाल्दा उपस्थित सयौँ नागरिक दिक्दारी व्यक्त गरिरहेका थिए, कारण त्यति ठूलाे दुर्घटना पश्चात् समेत नगरपालिमा उही पुरानो पानी ओसार्ने ट्याङकर जस्तो लाग्ने दमकल र अझै पनि मादी नदीवाट पानी ओसार्नुपर्ने स्थिति साच्चिकै कारुणिक देखिन्थ्यो । न त निमचोक र पराशर चोकमा तत्कालिन समयमा सार्वजनिक रुपमा राखिएका बाहेक कुनै फाएर स्टिङगुइसर त्यहाँ उपलव्ध हुन सक्यो । अन्य दमकलहरु केही समय पश्चात् आए पनि पानी रिफिल गर्ने प्रणाली नहूँदा नदी, खोला भरोसा प्रणालीका कारण आगो समयमा नियन्त्रणमा आउन कठिनाई भएको हरेक नागरिकले सहजै बुझिरहेका थिए ।
विषय प्रवेश
पंक्तिकार व्यास नगरपालिकाको जनप्रतिनिधि रहेको समयमा पंक्तिकारकै संयोजकत्वमा दमौली बजारको आगलागी र सुरक्षा प्रवन्धका लागि एउटा कार्यदल गठन भई विस्तृत अध्ययन गरी योजना तर्जुमाका लागि पेश गरिएको थियो । लामो समय प्रस्तुति समेत हुन नपाएको उक्त योजना दमौलीको भुपाल हार्डवेयरमा आगलागी भए पछि केही स्थानीयकाे दबाबमा बल्ल नगरपालिकामा प्रस्तुत गर्ने अवसर जुटेको थियो, जुन आज पर्यन्त थन्किएको छ ।
दमौली खानेपानिको तत्कालिन नेतृत्वको गम्भीर लापरवाही
दमौली खानेपानी तथा सरसफाई आयोजन सुरुवात हुँदा देखि नै कम्तिमा ३ वटा वाटर हाईड्रेन बनाउनुपर्ने सम्झौतामा उल्लेख थियो, यो मैले वडा नं ३ मा वाटर हाईड्रेन ं( आगलागीका समयमा सिधै पाइप मार्फत आगो निभाउन तथा दमकललाई पानी भर्न प्रयोग गर्ने एक प्रकारको धारा) राख्ने योजनाको अध्ययनका क्रममा पत्ता लगाएँ र सो पश्चात् निरन्तर उक्त योजनाका प्राविधिकलाई उक्त योजनाको कार्यान्वयनका लागि आग्रह गरिरहेँ तर आयोजनाले उक्त कार्य गर्दै नगरी अन्तिम भुक्तानी र धरौटी रकम समेत लिएर गइसक्दा समेत उक्त काम हुन सकेन ।
उक्त घटना लगक्तै हामीले वडा नं ३ मा सो प्रविधि जडान गर्न अध्ययन गर्याै । अध्ययनमा सस्तो लागतमा गर्न सकिने भन्ने लागेपछि पूरै दमौली बजार क्षेत्रमा वाटर हाईड्रेन राख्न अध्ययन गर्दा २, ३ र ४ नम्बर वडाको १५ स्थानमा वाटर हाईड्रेन निर्माण गर्न तत्कालिन समयको दर रेट (०७६) अनुसार १८ लाख रुपैयाँ लाग्ने लागत स्टिमेट तयार भएको थियो । हामीले दमौली बजारभित्रका लागि सो योजना वडा नं ३ बाट कार्यान्वयन गर्न लाग्यौँ तर खानेपानीको योजनामा पहिले नै भएकाले बृषराज श्रेष्ठ नेतृत्वको समितिले पुरानो योजना पुन कार्यान्वयन गर्न चासो देखाउनुभएको र केही चरण कुराकानी भएकाले हामीले खानेपानीको विश्वास गरे पनि त्यो पनि आज पर्यन्त अलपत्र हुन पुगेको छ ।
बेपरवाह नगरपालिका
समय समयमा पोलका तारहरुमा आगलागी हुने घटना बारे सायद समस्त दमौली बजारवासी अभ्यस्त छन्, तर यस्को प्रमुख कारण फाइवर बाहेकका प्रतिबन्धित तार हो भनेर मैले जिम्मेवार बठकहरुमा लगातार भन्दै र कहिले काहिँ लेख्दै पनि आएको छु, यो विषय प्रति मात्रै होइन दमौली बजारभित्र रहेका ग्याँसका डिपोहरु पटक-पटक आगो लागिरहने दमौलीका खतरनाक बम सरह नै हो भनेर पंत्तिकार सहित बजार क्षेत्रका वडा सदस्यहरुले लगातार नगर परिषद्मा उठाउनुभएकै हो। सुरुवात देखि नै दमौलीका ग्याँसका डिपोहरु स्थानान्तरण गर्ने निर्णय व्यवसायी समेतको सहमति र उपस्थितिमा भएको पनि हो तर कार्यान्वयन आज पनि अलपत्र छ, स्थानान्तरणका लागि अम्रेनी व्यास १ को छाला उद्योग परिसरको जग्गा बारे छलफल समेत अगाडि बढेको अवस्था आज पर्यन्त अलपत्र हुनु एउटा डरलाग्दो जोखिम कुरिरहनु हो । कल्पना गरौँ त सामान्य रुपमा सुरुवात भएका आगलागी नियन्त्रणमा समेत अब्बल नभएको हाम्रो नगरपालिका र दैवि प्रकोप उद्धार समिति, ग्याँस डिपोमा आगलागी भयो भने नियन्त्रणमा लिन सफल होलान् हालको अवस्थामा ?
यस्तो गम्भीर विषयलाई नजर अन्दाज कहिलेसम्म गर्ने, हरेक दुर्घटनाबाट पाठ सिक्नुपर्ने होइन? भुपाल हार्डवेयको घटनाबाट के पाठ सिक्याै ? के तयारी भयो उक्त घटना भविष्यमा रोक्नका लागि, बिजुलीका पोलमा बेला बखत हुने आगलागीका कारणबारे कुनै निकायले कारण खोजेको छ आजसम्म? आगलागी जस्ता घटनामा हामी कति सर्तक छौँ भन्ने आइतबार राति दमौलीका सयौँ नागरिक मध्यरातमा प्रत्यक्षदर्शी बनेर हेरिसकेका छन् त्यसैले अब यो वा त्यो वहानामा कमजाेरी गर्ने छुट कसैलाई छैन, तत्काल चुस्त दुरुस्त उद्धार र नियन्त्रण प्रणाली बनाउन अब ढिला नगरौँ अस्तु ।