१२ वर्षदेखि अलपत्र घुमाउने पुलको ठेक्का तोड्ने प्रक्रिया सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    १२ वर्षदेखि अलपत्र घुमाउने पुलको ठेक्का तोड्ने प्रक्रिया सुरु

    खबरपुञ्ज संवाददाता

    २८ बैशाख २०८३, मंगलवार

    दमौली, २९ वैशाख । विगत १२ वर्षदेखि अलपत्र रहेको तनहुँ र चितवन जोड्ने त्रिशुली नदीमाथिको घुमाउने पुलको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । निर्माण व्यवसायीको लापरवाहीका कारण पुल निर्माण अलपत्र बनेपछि सडक डिभिजन कार्यालय दमौलीले उक्त पुलको ठेक्का तोड्न लागेको हो ।

    तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने त्रिशुली नदीमाथि पुल निर्माण सुरु भएपनि तोकिएको अवधि र थपिएको म्यादमा समेत सम्पन्न नगरेको र कार्य सम्पन्न गर्नका लागि पटक–पटक निर्देशन दिएको भएपनि निर्माण व्यवसायीले कार्य सम्पन्न गर्नतर्फ कुनै कदम नचालेको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख राजिव श्रेष्ठले जानकारी दिए ।

    कार्यालयले आज सार्वजनिक सूचना जारी गरी सम्बन्धित निर्माण व्यवसायीलाई ठेक्का सम्झौताका विभिन्न दफा बमोजिम अविलम्ब निर्माणस्थल छाड्न र भुक्तानी हुन बाँकी स्वीकार्य कुनै कार्य भएमा १५ दिनभित्रमा सडक डिभिजन दमौलीमा सम्पर्क राखी वित्तीय फरफारक गर्न निर्देशन गरिएको छ ।

    उक्त ठेक्का सम्झौताको अवधिसमेत गुज्रिसकेको अवस्था रहेको हुँदा सार्वजनिक खरिद ऐन, २०६३ का सम्बन्धित दफाहरु, सार्वजनिक खरिद नियमावली २०६४ का सम्बन्धित नियमहरु तथा ठेक्का सम्झौताका देहाय बमोजिमका दफाहरु आकर्षित हुन गइ सम्झौता उल्लङ्घन भएको देखिएकाले उक्त ठेक्का अन्त्य गरी प्रचलित कानुन बमोजिम कारवाही प्रक्रिया अगाडी बढाइएको उनले बताए ।

    पछिल्लो पटक गत चैत १७ गते सडक डिभिजन कार्यालय दमौलीले निर्माण कम्पनी मृत सञ्जिवनी निर्माण सेवा हेटौडालाई पत्र लेखी पुलको काम सुरु गर्न निर्देशन दिएको थियो ।

    घुमाउने पुलको संशोधित डिजाइन निर्माण व्यवसायीबाट पेश भएकामा चैत १५ गतेको सडक विभागको विभागीय निर्णय अनुसार डिजाइनको सम्पूर्ण जिम्मेवारी लिई निर्माण व्यवसायीबाट पेश भएको स्पेसिफिकेसन सहितको डिजाइन तेस्रो पक्षको विज्ञबाट जाँच भएकाले निर्माण कार्य अगाडी बढाउन निर्देशन दिइएको थियो ।

    घुमाउनेमा पुल नबन्दा यस भेगका जनताले सास्ती खेपिरहेको र पटक–पटक मन्त्री, सांसद, सडक डिभिजनमा ध्यानाकर्षण र सरोकारवाला निकाय घेराउ समेत गरेका थिए । गत निर्वाचनताका सबै उम्मेदवारले पुल निर्माणलाई प्राथमिकता दिने हस्ताक्षर सहितको प्रतिबद्धता व्यक्त गरेका थिए ।

    पुल निर्माण सङ्घर्ष समितिका संयोजक सिद्धान्त थापा मगरले पुल निर्माण नहुँदा यस भेगका हजारौ जनताले सास्ती खेपिरहेको बताए ।

    घुमाउने पुल निर्माणका लागि सम्झौता भएको १२ वर्ष बितिसक्यो । सम्झौता अनुसार काम भएको भए यतिबेला पक्की पुल बनिसक्थ्यो । घुमाउनेमा पुल निर्माण थालिएपनि अहिलेसम्म दुईतिरको भागमा पिल्लर मात्रै ठडिएको छ । मृत सञ्जीवनी निर्माण कम्पनी हेटौंडासँग पहिलो पटक विसं २०७० असारमा उक्त पुल निर्माणका लागि सम्झौता भएको थियो ।

    बारम्बारको म्याद थप र डिजाइन परिवर्तन पछि विसं २०७५ माघमा निर्माणका लागि पुनः सम्झौता गरेकामा विसं २०७८ चैतमा पुल निर्माण सकिनुपर्नेमा अहिलेसम्म जम्मा करिब ३६ प्रतिशत मात्र काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ । उक्त पुल निर्माणका लागि विसं २०८३ असार मसान्तसम्मका लागि म्याद थप गरिएको छ ।

    गण्डकी प्रदेशको राजधानी पोखरा र चितवन बिचको कम दुरीमा सजिलै आवत जावत गर्न सकिने तनहुँ जिल्लाको सदरमुकाम दमौली स्थित व्यास नगरपालिका वडा नम्बर १ निर्मलनगरबाट सुरु हुने बुद्धसिं मोटरमार्ग सेती र मादी नदीको किनारा हुँदै क्रमशः व्यास १३, व्यास १४, बन्दिपुर ६, आँबुखैरेनी ५ हुँदै जाने र उक्त सडकलाई मुग्लिन–नारायणगढ सडकमा जोड्ने घुमाउनेघाटमा पुल निर्माण थालिएको थियो ।

    तनहुँ जिल्लाको कछार मानिने देवघाट गाउँपालिका अन्तर्गत वडा नम्बर २, ३ र ४ का जनताहरु समेत लाभान्वित हुने यस सडक पृथ्वी राजमार्गको मुग्लिन सडकखण्ड भन्दा करिव २३ किमि कम दुरी पर्दछ ।

    गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंमार्गको घुमाउनेको उक्त मोटरेबल पुलको निर्माण सम्पन्न पश्चात पोखरा र दमौलीलाई नारायणगढ आउन जान हाल सञ्चालन भइरहेको मुग्लिङ नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहो¥याएर मुग्लिङ नारायणगढ सडक खण्डसम्म ल्याउन सकिन्छ ।

    उक्त पुल एक सय ५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । सम्झौता बेला पुलको लागत रु नौ करोड ५६ लाख थियो ।