अफगान महिलाले यसकारण चलाए ‘मेरो लुगा नछोउ’ अभियान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    अफगान महिलाले यसकारण चलाए ‘मेरो लुगा नछोउ’ अभियान

    खबरपुञ्ज संवाददाता

    २९ भाद्र २०७८, मंगलवार

    एजेन्सी : तालिवानले महिला विद्यार्थीलाई पोसाकसम्बन्धी नयाँ नियम लागू गरेपछि अफगानिस्तानका महिलाहरुले त्यसको बिरोध गरेका छन् । महिलाहरुले मेरो पोसाक नछोउ अर्थात ‘ह्यासट्याग डुनट टच माई क्लोथ’ अभियान नै चलाएका छन् । उनीहरुले विभिन्न रंगीचंगी लुगा लगाएको तस्विर खिचेर सामाजिक सञ्जालमा पोस्टसमेत गरेका छन् । 

    विश्वप्रसिद्व सर्च इन्जिन गुगलले समेत अफगान महिलाको पोसाक सर्च गर्दा आधुनिक रंगीचंगी गी पोसाक देखाउन थालेको छ । महिलाले ह्याट, हेडबिन, स्कर्टलगायतका अत्याधुनिक पोसाक लगाएर तस्बिर पोस्ट गरेर तालिवानी निर्देशनको बिरोध गरेका हुन् । तालिवानले सोमबार महिलाले अलग पोसाक लगाउनुपर्ने नयाँ नीति ल्याएको थियो । 

    सामाजिक सञ्जालको ह्यासट्याग अभियान सुरु गरेकी डा. बहर जलालीले आफ्नो अभियानले परम्परागत पोसाकको पनि रक्षा गर्ने दाबी गरिन ।  अफगानिस्तानको पहिचान र सार्वभौमसत्तामाथि हमला भएकोले आफूले सो अभियान चलाएको पूर्वप्राध्यापकसमेत रहेकी जलालीले बताइन् ।

    हरियो साडी लगाएको तस्बिर ट्विटरमा पोस्ट गर्दै उनी लेख्छिन, ‘अफगानिस्तानको वास्तविक अनुहार ।’

    पछिल्लो २० वर्ष अफगान महिलाले अत्याधुनिक पोसाकमा सजिएर विश्वविद्यालय वा आफ्नो कार्यक्षेत्र जाने गरेका थिए । बुर्का र सम्पूर्ण शरीर ढाक्ने लुगाका सट्ट अफगान किशोरी जिन्स पाइन्ट र गलबन्दीमा सजिएका देखिन्थे । 

    तर, तालिवानको शासन सुरु भएसँगै सम्पूर्ण शरिर ढाक्ने पोसाक लगाएका महिलाका तस्बिर बोकेर राजधानी काबुलमा केही महिलाले प्रदर्शन गरेको पनि देखिन्छ । 

    यसै साता सार्वजनिक भएको एउटा भिडियोमा तालिवान समर्थित केही महिलाको प्रदर्शनमा ‘आधुनिक पोसाक लगाउनु र मेक अप गर्नु’  अफगान  मुस्लिम महिलाको प्रतिनिधित्व नगर्ने जनाइएको थियो । मुस्लिम कानून शरियासँग मेल नखाने अधिकार आफूहरुले नचाहेको केही महिलाले बताएका थिए ।