ऑबुखैरेनीमा पहिलो फूटसल सञ्चालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीमा पहिलो फूटसल सञ्चालन

    खबरपुञ्ज संवाददाता

    ९ आश्विन २०७८, आईतवार

    दमौली : तनहुँको आँबुखैरेनीमा पहिलो फुटसल सञ्चालनमा आएको छ । सोही ठाउँ निवासी दुई युवाको लगानीमा आँबुखैरेनी गाउँपालिका–३ पाउरोटी भण्डार हमालचोकमा आँबुखैरेनी फुटसल फुटसल सञ्चालनमा आएको हो ।

    प्रताप कार्की र प्रविन रानाले ८० लाखको लागतमा फुटसल सञ्चालन गरेका हुन् । जग्गा लिजमा लिएर एक वर्षको अवधिमा संरचना तयार गरी फुटसल शुरु गरिएको सञ्चालक प्रताप कार्कीले जानकारी दिए ।

    आँबुखैरेनीमा खेलमैदानको अभाव भएको र फुटबलप्रति आकर्षण बढेका कारण फुटसल मैदान तयार गरिएको कार्कीले बताए । “बजार बाक्लिदै जाँदा मैदान अभाव छ, फुटबलप्रति युवाहरुको आकर्षण बढ्दो छ, स्वास्थ्यलाई समेत ध्यानमा राखी फुटसल शुरु गरेका हौ,” उनले भने । अहिलेका युवाहरु नेपालमा भन्दा वैदेशिक रोजगारीका लागि विदेशिने प्रचलन रहेपनि आफूहरु भने नेपालमै केही गरौं भन्ने सोच सहित फुटसल शुरु गरिएको उनको भनाई छ ।

    फुटसलमा पाँच ए साइड खेल खेल्न मिल्नेछ । त्यसमा दुई टिम गरी दश जना खेल्न मिल्छ । त्यसका लागि बिहान १० बजेसम्म एक खेलको एक हजार पाँच सय, दिउँसो ४ बजेसम्म एक हजार र ४ बजेपछि एक हजार पाँच सय शुल्क तोकिएको छ ।

    नेपाली काङ्ग्रेस आँबुखैरेनी गाउँ समितिका सचिव दिनेश केसीले फुटसलप्रति युवाहरुको आकर्षण बढेको बताए । “फुटसल खेल्नका लागि मात्र होइन, स्वास्थ्यका लागि पनि आवश्यक छ,” उनले भने, “यस क्षेत्रमा फुटसल एकदमै आवश्यक थियो ।”

    फुटसल भनेको ‘मिनी’ फुटबल हो । यसको मैदान ४० मिटर लामो र २० मिटर चौडा हुन्छ । नियम सबै फुटबलसँग मिल्दाजुल्दा देखिए पनि केही फरक छन् । फाउल, फ्रिकिक, पेनाल्टी, रातो र पहेँलो कार्ड सबै फुटबलका नियमसँग मिल्छन् । यसमा ६ मिटर टाढाबाट पेनाल्टी हानिन्छ । गोलरक्षकलाई ब्याक पास दिन पाइँदैन । बल नियन्त्रणमा लिएपछि गोलरक्षकले पाँच सेकेण्डभन्दा बढी समय बल ‘होल्ड’ गर्न पाउँदैन । खेलाडीले रातो कार्ड पाएको दुई मिनेटपछि अर्को खेलाडी मैदान प्रवेश गर्न पाउँछ ।

    यो खेल सन् १९३० मा उरुग्वेका जुहान कार्लोस सेरियानीले शुरु गरेको इतिहास छ । उरुग्वेको स्थानीय भाषामा यसलाई ‘फुटोबल डे सालोना’ भनिन्थ्यो । फुटबलको नियमलाई आधार मानेर सेरियानीले फुटसलको नियम समेटेर नियम पुस्तिका प्रकाशन गरे । सन् १९३० को पहिलो फुटबल विश्वकप जितेपछि उरुग्वेमा फुटसल खेल्न थालिएको हो ।