दमौली : मुस्लिम समुदायका धर्म गुरु पैगम्बर हजरत मोहम्मद मुस्ताफाको १४ सय ९६ औँ जन्मोत्सवको अवसरमा बुधबार दमौलीमा र्याली निकालिएको छ । मुलुकको समृद्धि र नेपालीबीच सद्भभावको कामना गर्दै दमौलीमा र्याली प्रदर्शन गरिएको हो ।
दमौली मुस्लिम अन्जुमन कमिटीको आयोजनामा सुरु भएको र्याली मुख्यचोकबाट डाङ्ग्रेखोल्सी, सत्यवती मावि लाइन, प्रशासनचोक, सफासडक, न्युरोड, कालिकामार्ग हुँदै मस्जिद पुगेर समापन भएको थियो । र्यालीमा सहभागीहरूले प्ले कार्ड, धार्मिक वस्त्र, धार्मिक झन्डा, राष्ट्रिय झन्डासहित जन्मोत्सवको खुसीयालीमा नारा लगाएका थिए ।
कमिटीका अध्यक्ष रजक मियॉको अध्यक्षतामा आयोजित कार्यक्रममा धार्मिक प्रवचन समेत गरिएको सचिव मन्सुर अहमदले जानकारी दिए ।
हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजारी सम्वतको रब्बिउल औवल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो ।
मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ । जन्मदिनको खुसीयालीमा मुस्लिम समुदायले जश्ने इद मिलादुन नवि (रबिउल औवल) को रूपमा मनाउने गर्दछन् ।