२० महिनामा दुई किलोमिटर सडक कालोपत्रे भएन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    २० महिनामा दुई किलोमिटर सडक कालोपत्रे भएन

    खबरपुञ्ज संवाददाता

    ३ कार्तिक २०७८, बिहीबार

    दुलेगाैडा : भिमाद नगरपालिका–९ चिहानडाँडाबाट मोहोरिया पुग्ने कच्ची सडक कालोपत्रे गर्न सम्झौता भएको २० महिना भयो । १६ माघ २०७६ मा सम्झौता भई काम सुरु भएको हो । २.३ किलोमिटर सडक सोही आर्थिक बर्षको १ असारमा सम्पन्न गर्नलाई सम्झौतामा म्याद तोकिएको थियो । तर, ठेकेदारले सडक कालोपत्रेको काम सम्पन्न नगरी अलपत्र पारेर छाडेको छ ।

    अमर कन्सट्रक्सन पोखराले ठेक्का लिएको सडक कालोपत्रे हुन सकेको छैन् । गण्डकी प्रदेश सरकार र भिमाद नगरपालिकाले ५०/५० प्रतिशत लागत साझेदारीमा सडक कालोपत्रेको काम अगाडी बढाईएको थियो । उक्त सडकमा नाला र ग्याबिन जाली राख्ने मात्र काम भएको भिमाद नगरपालिकाका ईञ्जिनियर युकेश श्रेष्ठले बताए । श्रेष्ठका अनुसार निर्माणस्थलमा ३५ प्रतिशत कार्य प्रगती देखिन्छ । ‘अहिले फिल्डमा कामदार छैनन् । ठेकेदारलाई फोन गरेर बोलाउँदा आँउछु भन्ने जवाफ मात्रै पाईन्छ’, उनले भने ।

    एक करोड ९९ लाख ८० हजार रुपैयाँ लागत अनुमान गरिएकोमा अमर कन्सट्रक्सनले एक करोड ३३ लाख १० हजार रुपैयाँमा ठेक्का लिएको थियो । ५६ लाख २५ हजार रुपैयाँ भुक्तानी भएको इञ्जिनियर श्रेष्ठले बताए । गत बर्ष असारमा म्याद सकिएपछि मंसिरसम्मलाई थप भएको भयो । मंसिरमा पनि सम्पन्न नभएपछि फेरी बर्ष दिनको म्याद बढाईयो । थपिएको म्यादमा पनि सडक निर्माण सम्पन्न विश्वस्त नरहेको स्थानीय बताउँछन् ।

    ठेकेदार अहिले स्थानीयको सम्पर्कमै नरहेको बाबुराम रानाले बताए । ‘आवश्यक कामदार ल्याएर काम गर्ने हो भने धेरै समयको काम होईन् । बढीमा डेढ महिनामा सकिन्छ होला । अहिले ठेकेदार सम्पर्कमै छैन्’, भिमाद नगरपालिका–९ का वडा सदस्य समेत रहेको रानाले भने । बेलामै सडक कालोपत्रे नहुदाँ मोहोरियाको भाईरल घाङ्च ल्हुम पुग्ने पर्यटकले सास्ती भोग्नु परेको उनले बताए ।

    मोहोरियाको डुमडुम सामुदायिक वनमा रहेका अग्ला ढुंगालाई सिंगारेर चिटिक्कको पार्क बनाईएको छ । गत महिना घाङ्च ल्हुम पुग्ने पर्यटकको भिड लागेको थियो । तर, घाङ्च ल्हुम पुग्ने सडक ठिक नहुदाँ विस्तारै पर्यटक घटेका छन् ।

    उक्त सडकको ट्रयाक माओवादी शान्ति प्रकृयामा आएपछि खोलिएको हो । एक दशकपछि सडक कालोपत्रे गर्नलाई शिलन्यास हुदाँ चिल्लो सडकमा सवारीमा आरामले आउजाउ गर्ने सपना देखेका स्थानीयमा निराशा छाउन थालेको छ । ठेकेदारको बदमासीले महिनामा एक सय मिटर बाटो कालोपत्रे हुन नसक्नु यो केबल एउटा उदाहरण मात्र हो । ठेकेदारले लापरवाहीले जिल्लामा सडक लगायत धेरै योजना अलपत्र छन् ।