भिमाद : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेस सुधारको बाटोमा अगाडी बढेको बताएका छन् । नेपाली काङ्ग्रेस भिमाद नगर समितिले बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले काङ्ग्रेस सुधारको बाटोमा अगाडी बढ्न खोजेको आभाष हुन थालेको बताए ।
काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत देशभर महाअभियान चलिरहेको भन्दै वरिष्ठ नेता पौडेलले भने, “काङ्ग्रेसमा लहर आएको छ, यसले नेपालमा लोकतन्त्रको भविष्य सुनिश्चित छ भन्ने आभाष हुन थालेको छ ।”
वरिष्ठ नेता पौडेलले तल्लो तहबाटै काङ्ग्रेसमा आकर्षण बढेको भन्दै थपे, “काङ्ग्रेसलाई सुधार र सिद्धान्तको बाटोमा अगाडी बढाउने सङ्कल्प देखा परेको छ ।सुदुरपश्चिमदेखि पूर्वसम्म, हिमालदेखि तराईसम्म काङ्ग्रेसमा नयाँ जागरण देखा परेको छ । यसले निश्चय नै नेपालको राजनीतिलाई, लोकतान्त्रिक मान्यता र परिवर्तनलाई संस्थागत गर्न सहयोग पुग्छ ।”
वरिष्ठ नेता पौडेलले दुई तिहाई मत प्राप्त कम्युनिष्ट पार्टी विभाजित भएपनि काङ्ग्रेस त्यत्तिकै ढुक्क हुने अवस्था नरहेको बताए । काङ्ग्रेसको प्रमुख विपक्षी कम्युनिष्ट पार्टी भएको भन्दै उनले भने, “अरु फुटे भनेर हामी रमाउने होइन, हामीले आफ्नो सङ्गठन बलियो बनाउनुपर्छ । हामी आफैमा सजग र प्रतिबद्ध भएर अगाडी बढ्नुपर्छ ।”
तनहुँका दशवटै पालिकाबाट विजयी भएर आएका सबै नेता तथा कार्यकर्तामा आफ्नो अनुहार देखेको भन्दै वरिष्ठ नेता पौडेलले यो वा त्यो भनेर कित्ता छुट्याउन नहुनेमा जोड दिए । “काङ्ग्रेसलाई लोकतान्त्रिकरण गर्न, रुपान्तरण गर्ने उत्साह लिएर निर्वाचित भएर आएका सबैमा मैले मेरो अनुहार देखेको छु, ” वरिष्ठ नेता पौडेलले भने ।
नेपाली काङ्ग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपानेले राजनीतिलाई व्यवस्थित गर्ने अभियानमा लाग्नुपर्नेमा जोड दिँदै हिजोको कमजोरी भुलेर अबको महाधिवेशनमा रामचन्द्र पौडेललाई सभापतिमा जिताउन सहयोग गर्नुपर्ने बताए । “आत्मसमिक्षा गरौ, कमजोरीको समिक्षा गरौं, न्यायका प्रतिमूर्ति पौडेल दाईलाई जिताउन सबै लागौ,” न्यौपानेले भने ।
नेपाली काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेले विचार र प्रेरणाको स्रोत बिपी कोइरालापछि रामचन्द्र पौडेल भएको बताए । कार्यकर्ताले नेता छान्दा मूल्याङ्कन गर्नुपर्ने भन्दै कार्यवाहक सभापति आलेले १४ औं महाधिवेशनमा सही नेतृत्व छनौट गर्न आग्रह गरे ।
नेपाली काङ्ग्रेस भिमाद नगर समितिका सभापति अरविन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा काङ्ग्रेस क्षेत्रीय सभापति किसान गुरुङ, राष्ट्रियसभा सदस्य प्रकाश पन्थ लगायतले सम्बोधन गरेका थिए ।