मुग्लिन–पोखरा चार लेन सडक : पूर्वी खण्डमा काम सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुग्लिन–पोखरा चार लेन सडक : पूर्वी खण्डमा काम सुरु

    खबरपुञ्ज संवाददाता

    ४ कार्तिक २०७८, शुक्रबार

    दुलेगाैडा : गण्डकी प्रदेशको लाइफलाइन पृथ्वी राजमार्गको मुग्लिन पोखरा खण्ड चार लेनको बन्दैछ । २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बन्न लागेको हो ।

    ८० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाईएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किलोमिट सडक स्तरोन्नतीको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको होे ।

    हाल आँबुखैरेनी–जामुने पूर्वी खण्डको काम सुरु भएको छ । जामुने–पोखरा पश्चिम खण्डमा भने काम सुरु हुने चरणमा छ । निर्माण कम्पनी फिल्डमा आएर काम थालेको मुग्लिन पोखरा सडक योजना (आँबुखैरेनी–जामुने) पुर्वी खण्डका योजना प्रमुख नरेन्द्र सुवेदीले बताए । सर्भे डिजाईन सकाएर फाईनल गर्ने चरणमा रहेको उनले बताए । ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा यो खण्डको ठेक्का सम्झौता भएको हो ।

    मुग्लिन पोखरा सडक योजना पश्चिम (जामुने–पोखरा) खण्डको ठेक्का पाएको यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सन कम्पनीका प्रतिनिधी भने कोरोनाको कारण भदौ दोस्रो साता मात्रै नेपाल आईपुगे । १३ भदौमा यनहुइका प्रतिनिधिले निर्माण प्रतिबद्धता जनाएको योजना प्रमुख प्रेमप्रकाश खत्रीले जानकारी दिए ।

    भदौ २७ गते निर्माण कम्पनीलाई कार्यक्षेत्र हस्तान्तरण गरेको उनले बताए । कार्यक्षेत्र हस्तानतरण भएपनि मर्मत सम्भारको कामका लागि भने सडक डिभिजन कार्यालयलाई अनुरोध गरेको खत्रीले बताए । निर्माण कम्पनीका प्रतिनिधी आएपनि कामदार भने आईनपुगेको उनको भनाई छ । ‘कामदार ल्याउनलाई भिषा प्रकृयामा छन् । नेपाल आएका प्रतिनिधीले अस्थायी कार्यालय खडा गरेका छन् । कार्यालय बनाउनलाई डिजाईन गर्ने, निर्माणस्थलको निरक्षण, बिमा र पेश्की लिनका लागी कागजात तयार पार्ने काम प्रतिनिधीले गरिरहेका छन्’, खत्रीले भने । यो प्याकेजको सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का लगाईएको हो ।

    चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ । बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडाईको सडक बन्नेछ । डिजाईन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौँडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखी पोखरासम्म सडकको चौडाई ४६ मिटरको हुनेछ ।

    सडक चार लेनको बन्दा अहिले भएका पुलको ठाउँमा नयाँ बनाउनुपर्ने हुन्छ । आँबुखैरेनीदेखी पोखरासम्मको ८० किलोमिटर दुरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण गर्नुपर्ने मुग्लिन पोखरा सडक योजना पश्चिम (जामुने–पोखरा) खण्डका योजना प्रमुख अधिकारीले जानकारी दिए । ३१ मध्ये दमौलीस्थित मादी नदी र पोखरास्थिती सेती नदीमा पुल निर्माणको ठेक्का लगाउन बाँकी रहेको उनले बताए । अरु २९ पुल दुई प्याकेजमा लगाईएको ठेक्का अन्तर्गत नै निर्माण हुने उनले जनाए । २९ मध्ये पनि सात पुल ठुला हुनेछन् ।

    सडक चार लेन बनाउँदा दायावायाका आठ हजार रुख काटिनेछन् । तनहुँ खण्डमा ६ हजार ७ सय ५० रुख काटिनेछ । यो खण्डमा रुख काट्नलाई वन विभागले स्वीकृति दिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताए ।

    काफ्लेका अनुसार योजनाले रुख काटेर वन कार्यालयलाई बुझाउनुपर्ने हुन्छ । कास्की खण्डमा एक हजार दुई सय पचास रुख कटानका लागी विभागबाट स्विकृत लिने प्रकृयामा रहेको जनाईएको छ । ८० किलोमिटर मध्य हालसम्म तनहुँको गुणादी क्षेत्रको आठ किलोमिटर दुरीमा सडक आसपासको बिजुलीको पोल सार्ने काम सकिएको छ ।

    आँबुखैरेनीदेखि मुग्लिन खण्डको आठ किलोमिटर दुरीको भने डिजाईन हुँदैछ । यो खण्डमा हाल पृथ्वीराजमार्गको भएको स्थानमा मस्र्याङ्दी जलविद्युत गृह रहेको छ । जलविधुत गृह र सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखांकन नै परिवर्तन गर्नुपरेको छ ।

    चालु आर्थिक बर्षमा संघीय सरकारले मुग्लिन पोखरा चार लेन सडक योजनाका लागी चार अर्ब ४३ करोड ४३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गत आर्थिक बर्षमा दुई अर्ब नौ करोड ५४ लाख ४ हजार रुपैयाँ विनियोजन भएको थियो । चालु तर्फ विनियोजन भएको ४२ लाख ७ हजार रुपैयाँ मध्ये १८ लाख २६ हजार ६ सय ८५ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जानकारी दिएको छ । कार्यालयका अनुसार पुँजीगततर्फ दुई अर्ब नौ करोड ११ लाख ९७ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा ३६ करोड ७५ लाख ६९ हजार ८ सय ७३ रुपैयाँ मात्र खर्च गर्न सफल भएको छ ।